सर्लाही, १८ जेठ । काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताए ।
उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताए ।
अर्थमन्त्री वाग्लेले ५० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधन (इभी) मा कर घट्ने व्यवस्था गरिएको जानकारी दिँदै बजेट वक्तव्यमा एउटा सानो नोट छुटेको पनि स्वीकार गरे ।
नले भने,‘कसैले गर्न नसकेको आँट यो सरकारले गर्यो भनेर पनि लख्दिनु पर्यो । १५० युनिटको बिजुलीमा कति तिर्नुहुन्छ, पाँच प्रतिशत पनि होइन् । ५० युनिट निशुल्क छ ।
त्यसमा ट्याक्स जम्मा तीन प्रतिशत हो । बिल ८–९ सय उठ्दा जम्मा २४ रुपैयाँ तिर्ने हो । यहाँ आकाश नै खसेको जस्तो गरेर प्रचार गरेको देख्छु ।
५० लाखभन्दा मुनीको इभिमा मूल्य घट्दै छ, बजेटमा सानो नोट छुटेको रहेछ ।’
उनले यस वर्षको बजेट निर्माणमा समय र स्रोत दुवै चुनौतीका रूपमा रहेको बताए । चैत्र महिनाको बीचमा सरकारमा आएर जेठमा बजेट ल्याउनुपरेकाले पर्याप्त समय नपाएको उनको भनाइ थियो ।
बजेटमा समावेश नभएका धेरै विषयमा समेत छलफल भएको तर पर्याप्त अध्ययन आवश्यक ठहरिएका विषयलाई आगामी वर्षका लागि राखिएको उनले बताए ।
उनले भने,‘यसपालीको बजेटमा चुनौती भनेको समय कम थियो र अर्को स्रोतको चुनौती थियो । चैतमा आइयो जेष्ठमा बजेट ल्याउनु पर्यो, समय धेरै पाइएन ।
बजेट नपरेको कतिपय क्षेत्रहरुमा पनि छलफल नभएको होइन् । कतिपय कुरामा राम्रोसँग अध्ययन नगरी नजाऊ भनेको अर्को वर्षलाई राखिएको छ । पाँच वर्षसम्म के-के गर्ने भन्ने छ, अहिले हामीले जग बसाल्ने कुरालाई बढि प्राथमिकता दिएका छौं ।’
अर्थमन्त्री वाग्लेले दुई तिहाइ बहुमतको सरकार भएकाले जनअपेक्षा उच्च रहेको स्वीकार गर्दै स्रोत र क्षमताअनुसार सन्तुलित बजेट ल्याइएको बताए।
