सर्लाही, १८ जेठ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशीलबहादुर बज्राचार्यले त्रिवि शिक्षणसँगै अनुसन्धानात्मक विश्वविद्यालय भएकाले वार्षिक एक हजारभन्दा बढी अनुसन्धान लेख उत्कृष्ट जर्नलहरूमा प्रकाशित भइरहेको बताएका छन् ।
त्रिवि, विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयले आयोजना गरेको अनुसन्धान विधि, तथ्याङ्क संकलन र विश्लेषण विधि कार्यशाला गोष्ठीमा उपकुलपति बज्राचार्यले त्रिविको वरीयता बढाउन थप मिहिनेत आवश्यक रहेको बताए ।
‘वार्षिक एकहजार भन्दा बढी अनुसन्धानमुलक लेखहरु उत्कृष्ट जर्नलहरुमा प्रकाशित हुँदै आइरहेको छ । अनुसन्धान संस्कृतिको विकाससँगै शिक्षकहरुको अनुसन्धान सम्वन्धमा चासो र सहभागिता बढेको छ’, उनले भने, ‘एकीकृत तथ्याङ्क प्रणालीको अभावले विश्वविद्यालयको सक्रियताअनुरुप अन्तराष्ट्रीय प्रतिस्पर्धा र वरीयतामा थप मेहनेत गर्नुपर्ने छ ।’
कार्यशालामा सिकेका अनुसन्धान र प्रविधि सम्वन्धी ज्ञान कक्षाकोठा र विद्यार्थीको सिकाईमा समेत प्रतिविम्वित हुने अपेक्षा व्यक्त उनले गरे ।
सात दिने कार्याशालामा कसरी अनुसन्धान क्षमताको विकास, अनुसन्धान विधि, तथ्याङ्क संकलन र विश्लेषण विधि, अनुसन्धानमा कृत्रिम वौद्धिकताको उपयोग, सञ्चार सीपलगायतका अनुसन्धानात्मक दक्षता अभिबृद्बिमा केन्द्री रहने छ । कार्याशालामा त्रिविका विभिन्न शैक्षिक निकायमा संलग्न युवा अनुसन्धानकर्मी शिक्षकहरु रहने छन् ।
विश्वविद्यालय क्याम्पस कीर्तीपुरका प्रिन्सिपल प्रा.डा अक्कलदेव मिश्रले शिक्षकहरुको अनुसन्धान क्षमता बढाउन तालिमले सहयोग पुर्याउने, प्रविधिको विस्तारसँगै अनुसन्धान पद्बतिमा आएको बहुआयामिक परिवर्तनका बारेमा अनुसन्धानकर्मीहरुलाई अभ्यस्त बनाउने बताए ।
