सर्लाही, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार अपराह्न नयाँदिल्ली पुगेका छन् ।
भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको उनको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ ।
सभापति लामिछानेको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख तथा सांसद दीपक बोहोरा तथा लामिछानेपत्नी निकिता पौडेल छन् ।
लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन र विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक वार्ता गर्ने तय भएको छ । त्यस्तै, बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट तय भएको उच्च कूटनीतिक स्रोतले बताएको छ । भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नेछन् ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपा अध्यक्षको सचिवालय हेर्ने राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग इन्चार्ज विजय चौथाइवाले तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापाले स्वागत गरेका छन् । सिंह र चौथाइवालेले सभापति लामिछानेलाई स्वागत गर्दै ट्विटसमेत गरेका छन् ।
पछिल्लो चुनावबाट संसद्को सबैभन्दा ठुलो दलका रूपमा रास्वपा उदाएपछि भारत भ्रमण गर्ने पहिलो शीर्ष नेता लामिछाने हुन् । दुई देशका सत्तारूढ दलका शीर्ष नेताहरूबिचको यो पहिलो भेटवार्ता हो ।
‘मंगलबार सभापति लामिछानेलाई भाजपा नेतृत्वले पार्टी मुख्यालयमा स्वागत गर्ने कार्यक्रम छ, जहाँ लामिछाने र अध्यक्ष नितिनबिच दिवाभोजसहित वार्ता हुनेछ,’ भाजपा विदेश विभाग स्रोतले नयाँ पत्रिकासँग भन्यो ।
नेपालमा गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि ५ फागुनमा भएको चुनावी परिणामबाट रास्वपाले करिब दुईतिहाइ मत हासिल गरेसँगै भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह (हाल प्रधानमन्त्री)लाई टेलिफोन गरेर बधाई दिएका थिए ।
भाजपा विदेश विभाग इन्चार्ज चौथाइवालेले भाजपा र रास्वपाबिचको सम्बन्ध सुदृढीकरणमा यो भ्रमण केन्द्रित रहेको जानकारी दिएका छन् । ‘भाजपाले नेपालको सत्तारूढ रास्वपासँग नियमित कुराकानी गर्ने च्यानल स्थापना गर्न खोजिरहेको छ ।
हामी निश्चय नै दुई पार्टीबिच संवाद सेटअप गर्नेछौँ । यो हाम्रा लागि पनि नयाँ हो । हामी आशावादी छौँ कि यसले एक प्रकारको नियमित संवादको ढोका खुल्नेछ,’ भारतीय मिडिया द प्रिन्टलाई चौथाइवालेले सोमबार भनेका छन् ।
नयाँदिल्लीस्थित नेपाल–भारत सम्बन्धका जानकार नविता श्रीकान्तले सभापति लामिछानेको भ्रमणले परम्परागत कूटनीतिभन्दा बाहिर गएर रचनात्मक संलग्नताका लागि दुवै पक्षलाई अवसर प्रदान गरेको टिप्पणी गरिन् ।
‘दिल्लीको अहिले चासो कुनै खास राजनीतिक दलमा नभएर एक स्थिर, लोकतान्त्रिक र समृद्ध नेपालका लागि हो । सभापति लामिछानेको भ्रमणले दुई छिमेकीहरूबिचको आपसी विश्वास गहिरो बनाउँदै नेपालको लोकतान्त्रिक जग बलियो बनाउन योगदान पुर्याउन सक्छ,’ श्रीकान्तले टेलिफोनमा भनिन्, ‘नेपाल भारतको विस्तारित आर्थिक साझेदारीको सञ्जालबाट लाभान्वित हुन विशिष्ट स्थितिमा छ ।
लामिछानेको भ्रमण नेपालका लागि भारतसँगको एक विश्वसनीय साझेदारीका लागि ठुलो फड्को मार्ने र बढीभन्दा बढी फाइदा लिने अवसर हो ।’
