सर्लाही, २१ जेठ । एमाले, कांग्रेस र माओवादीको समर्थनमा बनेको मधेश सरकारले मन्त्रालयभित्रको प्रवेश व्यवस्थामा कडाइ गरेको छ।
अब मन्त्रालय परिसरमा पास बिना प्रवेश गर्न नपाइने व्यवस्था लागू गरिएको छ ।
सरकारले सुरक्षा व्यवस्थालाई कारण देखाउँदै यस्तो निर्णय लागू गरेको जनाएको भए पनि सर्वसाधारणले भने यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सेवाग्राहीहरूका अनुसार सामान्य नागरिकलाई मन्त्रालय प्रवेशमा रोक लगाइए पनि पहुँच र चिनजानका आधारमा केही व्यक्तिहरूले सहज रूपमा पास पाउने गरेका छन् ।
सेवाग्राहीहरूले मन्त्रालयमा सेवा लिन जाँदा अनावश्यक झन्झट र विभेदपूर्ण व्यवहार भोग्नुपरेको गुनासो गरेका छन् । उनीहरूले सबै नागरिकका लागि समान र पारदर्शी प्रवेश व्यवस्था लागू गर्न माग गरेका छन् ।
