सर्लाही, २२ जेठ । नेपाली कांग्रेसमा आन्तरिक शक्ति संघर्ष चर्किरहेका बेला पार्टी केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशका केही नेतामाथि अनुशासनात्मक कारबाही अघि बढाएको छ ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका संस्थापन इतर पक्षका नेताहरूलाई लक्षित गर्दै कारबाही गरिएको भन्दै कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सर्लाहीका तीन जना प्रदेशसभा सदस्यलाई सचेत गराउने तथा बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

समितिले सर्लाही प्रदेशसभा क्षेत्र नम्बर २ अन्तर्गतका सांसद सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई आगामी दिनमा पार्टीको विधान, नियमावली र अनुशासनको पालना गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशनसहित सचेत गराएको छ ।

उनीहरूविरुद्ध गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो ।

पार्टीले वैशाख २१ गते स्पष्टीकरण सोधेको र सांसदहरूले आरोप अस्वीकार गर्दै लिखित जवाफ बुझाएका थिए। अनुशासन समितिले उनीहरूको स्पष्टीकरणलाई चित्तबुझ्दो माने पनि भविष्यमा यस्ता गुनासा नआउने गरी जिम्मेवारी निर्वाह गर्न चेतावनी दिएको जनाएको छ ।

सचेत गराइएका सांसदहरूमध्ये जंगीलाल राय केही समयअघि मात्रै मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदबाट हटाइएका थिए ।

उनको स्थानमा रौतहटका नागेन्द्र साहलाई मन्त्री नियुक्त गरिएको थियो। कांग्रेसभित्र जंगीलाल रायमाथि पार्टी नेतृत्वविरुद्ध अन्तरघात गरेको आरोप लाग्दै आएको थियो । स्रोतका अनुसार मन्त्री पदबाट हटाउने निर्णय पनि सोही विवादसँग जोडिएको थियो ।

यता, अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई भने पदबाट निलम्बन गरेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरी अन्तरघात गरेको निष्कर्ष निकाल्दै समितिले उनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

यादव कांग्रेसको संस्थापन इतर समूहसँग निकट मानिन्छन् र उनी पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताका रूपमा परिचित छन् ।

बारा जिल्लामा बलियो जनाधार भएका यादवको निलम्बनले स्थानीय तहमा कांग्रेस संगठन प्रभावित हुन सक्ने विश्लेषण भइरहेको छ । हालसम्म उनको स्थानमा कार्यवाहक सभापति तोकिएको छैन ।

त्यसैगरी, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले भने अनुशासन उल्लंघनको आरोपबाट सफाइ पाएका छन् ।

उनले पेश गरेको स्पष्टीकरण सन्तोषजनक रहेको तथा उपलब्ध प्रमाणका आधारमा थप कारबाही आवश्यक नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिएको हो ।

कांग्रेसमा हाल क्रियाशील सदस्यता नवीकरण र संगठन सुदृढीकरणको काम चलिरहेको छ । तर संस्थापन र संस्थापन इतर पक्षबीचको विवाद अझै कायम रहेको अवस्थामा अनुशासन समितिको पछिल्लो निर्णयलाई पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।

विशेषगरी मधेश प्रदेशमा असन्तुष्ट समूह सक्रिय भइरहेका बेला एकातिर तीन सांसदलाई चेतावनी र अर्कोतिर जिल्ला सभापतिलाई निलम्बन गरिएको घटनाले कांग्रेसभित्रको आन्तरिक राजनीति थप तातिएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *