सर्लाही, २२ जेठ । धनुषाको जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत लक्ष्मीनियामा स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।
सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा संलग्न सवारी चालकको पहिचान गरी पक्राउ गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै स्थानीयले शुक्रबार बिहान सडक अवरुद्ध गरेका हुन् ।
स्थानीयवासीका अनुसार बिहान ७ देखि ८ः३० बजेसम्म टायर बालेर सडक अवरुद्ध गरिएको थियो । सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
गत जेठ २० गते बिहान लक्ष्मीनिया गाउँपालिका–७ निवासी ६५ वर्षीया मरनीदेवी महराको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो ।
मृतकका छोरा मुकेश महराका अनुसार आमाले खेततर्फ जाने क्रममा सडक पार गर्दा दुई जना सवार मोटरसाइकलले ठक्कर दिएर फरार भएको थियो । गम्भीर घाइते भएकी आमाको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको उहाँले बताउनुभयो ।
घटना भएको केही दिन बितिसक्दा पनि दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालकको पहिचान हुन नसकेको परिवारको गुनासो छ ।
दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै मृतकका परिवारजनसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
