सर्लाही, २२ जेठ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहलाई मुख्यसचिवदेखि राजदूत बन्नका लागि सहयोग माग गर्दै म्यासेज गरेको खुलेको छ ।
प्रधानमन्त्रीलाई म्यासेज गरेको पाइएपछि बिहीबार मात्रै पुस्करलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केरकार गरेको थियो । लामो केरकार गरेपछि पुस्करलाई प्रहरीले उनकी श्रीमतीको जिम्मा लगाएर छाडेको थियो ।
केरकारमै पर्नेगरी पुस्करले के म्यासेज पठाएका थिए भन्ने प्रश्न उब्जिएको थियो। अनलाइनखबरलाई प्राप्त म्यासेजमा सचिव पुस्करले अझै मुख्य सचिव हुनका लागि आशय व्यक्त गरेको देखिएको छ ।
उनले हजुरको विशेष ध्यान भएमात्रै मुख्यसचिवमा सम्भावना रहेको नत्र कुनै सम्भावना नरहेको उल्लेख गरेका छन् ।
यसबाट पुस्करले अझै मुख्यसचिवका हुनका लागि आश गर्दै सहयोग हुनसके अझै सम्भावना रहेको व्यक्त गरेको देखिन्छ ।
मुख्य सचिव नभएको अवस्थामा सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर २४ असारमा अवकाशमा जाने निश्चित भएकाले राजदूतका लागि पुष्करले फारम गरेको पनि पाइएको छ । उक्त कुरा उनले म्यासेजमै उल्लेख गरेका छन् ।
‘राजदूतका लागि विज्ञापन हेरेँ र मैले पनि आवेदन पेश गरेँ, हजुर । यस समन्बन्धमा हजुरको जानकारी मार्गंदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
यही म्यासेजपछि पुस्करलाई नियन्त्रणमा लिएर प्रहरीले केरकार गरेको थियो । यता सरकारी संयन्त्रले भने पुस्करलाई पक्राउ गरेर थुन्ने कुनै योजना नरहेको बताएको छ । अझै मुख्यसचिव बन्न खोज्ने, बहालमै रहेका सचिवले राजदूतका लागि फारम भर्ने र सहयोग भन्दै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि एउटा सन्देश दिन प्रहरीले सोधपुछ गरेको सरकारी स्रोतले जानकारी दियो ।
‘यति म्यासेजकै आधारमा पक्राउ गर्ने थुन्ने भन्दा पनि एउटा सन्देश दिन खोजिएको हो । ताकि भोलिका दिनमा यस्ता घटना नदोहोरिउन् भन्ने हो । अझै पनि भनसुनको भरमा मुख्यमन्त्री ताक्ने, राजदूतका लागि सहयोग माग्ने प्रवृति देखिएकाले सबैलाई जनालाई सन्देशका लागि प्रहरीले सोधपुछमात्रै गरेर छाडेको हो,’ सरकारी स्रोत भन्छ ।
