सर्लाही, २५ जेठ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि अभद्र व्यवहारको जाहेरी लिएर तीन युवा प्रहरीमा पुगेका छन् । तर, काठमाडौं प्रहरी परिसरले जाहेरी दर्ता नगरी फर्काइदिएको छ ।

केही दिनअघि प्रहरी हिरासतभित्रै पसेर गुरुङले थुनुवालाई गालीगलौज गरेको भन्दै जाहेरी दिन खोजिएको हो । दैलेख, ठारीकाठ गाउँपालिका-१ का २८ वर्षीय अजय सोडारी, कैलाली, घोडाघोडी नगरपालिका- १ का ३१ वर्षीय प्रकाश बम र काठमाडौं, चन्द्रागिरी नगरपालिका- १० का २८ वर्षीय लक्ष्मण पौडेल जाहेरी लिएर गएका थिए ।

गत जेठ १९ गते प्रदर्शनका क्रममा लैनचौरस्थित भारतीय दूतावास अगाडि पुग्दा उनीहरुलाई प्रहरी वृत्त, लैनचौर (सोह्रखुट्टे) ले पक्राउ गरेको थियो ।

‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको अभिन्न अंग हो’ भन्दै सांकेतिक प्रदर्शनस्वरूप पम्प्लेट सहित उनीहरू त्यहाँ पुगेका थिए । तर, दूतावासअगाडि प्रदर्शन निषेधित हुने भन्दै उनीहरूलाई पक्राउ गरिएको थियो । भोलिपल्ट उनीहरु छुटेका थिए ।

प्रहरी हिरासतमा राखिएकै अवस्थामा पूर्वगृहमन्त्री गुरुङ अपराह्न ३ देखि ४ बजेको समयमा त्यहाँ पुगेर सोडारी, बम र पौडेलसहितका प्रदर्शनकारीसँग भेटेका थिए ।

भेटका क्रममा गुरुङले त्यसकिसिमको आवाज उठाउन र नारा, जुलुस गर्न नपाउने भनेको युवाहरूले तयार गरेको जाहेरीमा उल्लेख छ ।

यदि त्यसो गरेमा रास्वपाका कार्यकर्ता र गुण्डा लगाएर जीउ-ज्यान समेत फेला नपर्ने गरी गायव हुनसक्ने धम्की गुरुङले दिएको दाबी उनीहरूले गरेका छन् ।

गुरुङको कसुरमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ आकर्षित हुने व्यहोरा जाहेरीमा उल्लेख छ ।

जाहेरीमा लेखिएको छ, ‘कसैले सार्वजनिक स्थानमा प्रवेश गर्ने कानुनी अधिकार नभएकोमा विपक्षी सुदन गुरुङ थुनुवा राखेको कक्षमा प्रवेश गरी अभद्र व्यवहार गरी हामी जाहेरवालालाई गालीगलौज गरी ज्यान मार्ने र बेपत्ता पार्ने धम्की दिएकोले सोही ऐनको दफा ११८ (२) बमोजिम हदै सम्मको सजाय गरी पाउँ ।’

उनीहरूले अपराधसँग सम्बन्धित सबुत प्रमाणका रूपमा सोही दिन प्रहरी प्रभाग, लैनचौरको थुनुवा कक्षमा जडान भएको सीसीटीभीलाई आधार मान्न माग गरेका थिए ।

प्रहरीले भने उक्त जाहेरी दर्ता गर्नका निम्ति कुनै कानुनी आधार नभएको बताएको छ ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले प्रहरी हिरासतमा राखिएका व्यक्तिमाथि कुनै किसिमको अभद्र व्यवहार हुने सम्भावना नै नरहेको र त्यस्ता विषयमा कसैले जाहेरी लेख्यो भन्दैमा दर्ता गर्न आफूहरु बाध्य नहुने बताए ।

‘उहाँहरूलाई नियन्त्रणमा लिएर भोलिपल्ट छोडिएको हो, छोडेपछिको अवस्थामा शान्ति सुरक्षा चाहिएको वा त्यस किसिमको समस्या हो भने हामी उहाँहरुलाई सहयोग गर्छौं’, उनले भने ।

प्रहरीले जाहेरी दर्ता नगरेपछि आफूहरुले शान्ति सुरक्षाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको अजय सोडारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *