सर्लाही, २५ जेठ । नेपाल र हङकङविरुद्ध जारी एसियन गेम्स छनोटको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । नेपालले दोस्रो इनिङमा ब्याटिङ गरिरहँदा खेल रोकिएको हो ।
सिंगापुरमा भएको म्याचमा हङकङले पहिलो ब्याटिङ गर्दै नेपाललाई १८९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जिततर्फ लम्किएको अवस्थामा पानी परेर खेल रोकिएको छ । रोकिनुअघिसम्म नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन जोडेको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै अर्धसतक प्रहार गरे । ४० बलमा ६५ रन बनाए । आसिफ शेख शून्यमा आउट भएपछि रोहित पौडेल र भुर्तेलबीच उत्कृष्ट साझेदारी भएको थियो । भुर्तेलले आफ्नो इनिङमा ३ छक्का र ८ चौका प्रहार गरेका छन् ।

अहिले क्रिजमा रोहित र कप्तान दीपेन्द्रसिंह ऐरी छन् । रोहितले २४ बलमा ३५ रन बनाएर खेलिरहेका छन् भने दिपेन्द्र ४ बलमा ९ रनका अवस्थामा छन् ।
थप खेल हुन सकेन भने डीएलएसको आधारमा निर्णय हुने छ । डीएलएस अनुसार नेपाल १९ रनले अगाडि छ ।
