सर्लाही, २९ जेठ । ‘मिसेस ग्लोबल नेपाल-२०२६’ को उपाधि काठमाडौँ गोंगबुकी सभ्या महर्जनले  जितेकी छन् । मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एनएफईए-२०२६’ मा सहभागिता जनाउने इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।

बिहीबार राजधानीमा सम्पन्न भव्य फाइनल स्पर्धामा रञ्जिता क्षेत्री फस्ट रनरअप र अञ्जु भट्टराई सेकेन्ड रनरअप भइन् । 

हिमालयन मुभिजद्वारा आयोजित विवाहित महिलाहरूको यो राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको नवौँ संस्करण हो ।

विभिन्न क्षेत्रका १२ भन्दा बढी महिलाको सहभागिता रहेको यस प्रतियोगितामा प्रतियोगीहरूलाई करिब तीन सातासम्म विशेष प्रशिक्षण दिइएको थियो ।

सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाले उनीहरूलाई व्यक्तित्व विकास, उद्घोषण कला, स्टेज प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, नेतृत्व क्षमता विकास, फोटोसुट र भिडिओसुटलगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमको सुरुवात प्रतियोगीहरूको आकर्षक ओपनिङ डान्सबाट भएको थियो, जहाँ उनीहरूले कोरियोग्राफर सुब्बाकै निर्देशनमा प्रतियोगिताको थिम सङमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

परिचयात्मक चरण, बेस्ट ड्रेस चरण, टप नाइन र टप सिक्स हुँदै प्रतियोगिता क्राउनिङ चरणमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा मुख्य उपाधिका अलावा विभिन्न विधागत विनरहरू समेत घोषणा गरिएको थियो। जसअन्तर्गत मुख्य विजेता सभ्या महर्जनले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस दुवै अवार्ड हात पारिन् ।

त्यस्तै रोशी धितालले बेस्ट फोटोजेनिक, रन्जिता क्षेत्रीले मोस्ट स्मार्ट, अन्जु भट्टराईले मोस्ट डाइनामिक र बिमला महर्जनले मोस्ट चार्मिङ र माेस्ट पपुलर अवार्ड जिते ।

प्रतियोगितामा सरला थापा मोस्ट कन्फिडेन्ट, ललिता राई बेस्ट कम्प्लेक्सन, विमला श्रेष्ठ बेस्ट पर्सनालिटी, वेस्ट मल्टिमिडिया गिता खतिवडा, निर्मला नगरकोटी मोस्ट प्यासोनेट, गिता खतिवडा मोस्ट डिलिजेन्ट र बिना महर्जन मोस्ट एट्र्याक्टिभ भए ।

यसैगरी मीनाकुमारी मगरले मोस्ट डेडिकेटेड र वेस्ट पब्लिक च्वाइस विधामा बाजी मारिन् भने अञ्जुदेवी भट्टराईले पब्लिक च्वाइस भिडियो अवार्ड प्राप्त गरिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेतृ एवं इभेन्ट अर्गनाइजर मेनुका माझी र ‘ब्युटिसियन नेपाल २०२६’ सानु थापा मगरलगायत थिए ।

विवाहित महिलाहरूको क्षमता र प्रतिभालाई समाजसामु प्रस्फुटन गराउँदै उनीहरूको छुट्टै पहिचान बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *