सर्लाही, २९ जेठ । प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुर ले मातृभाषा व्यक्तिको पहिचान, संस्कृति, सभ्यता र इतिहाससँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र सम्मान गर्नुपर्ने बताएकी छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मैथिली आफ्नो मातृभाषा र मधेश आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन् ।
शुद्ध नेपाली बोल्न आफू निरन्तर प्रयासरत रहे पनि आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिली भाषाको प्रभाव देखिनु स्वाभाविक रहेको उनको भनाइ छ ।
‘मैथिली मेरो मातृभाषा हो र मधेश मेरो जन्मभूमि हो। शुद्ध नेपाली बोल्न म निरन्तर प्रयासरत छु । मेरो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो,’ उनले लेखेकी छन् ।
मातृभाषा केवल संवादको माध्यम मात्र नभई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको सम्पदा भएको उल्लेख गर्दै ठाकुरले यसलाई गर्वका साथ अपनाउने र जीवनभर सम्मान गरिरहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले भाषिक विविधता नेपालको सांस्कृतिक समृद्धिको आधार भएको उल्लेख गर्दै सबैलाई आफ्नो मातृभाषाप्रति गर्व गर्न र त्यसको संरक्षणमा योगदान पुर्याउन आग्रह गरेकी छन्।
