काठमाडौ, २६ साउन। पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एक समुद्री प्रशिक्षक जेसिका र्‍याडक्लिफलाई ओर्का (किलर ह्वेल) ले मारेको दाबीसहितका भिडिओ भाइरल भइरहेका छन् । विश्वव्यापी रूपमा अर्बौं पटक हेरिएका यी भिडिओ डिजिटल साक्षरता कम भएका देशमा बढी चर्चित छन् ।भाइरल भएका विभिन्न फुटेजमा एक प्रत्यक्ष कार्यक्रमका दौरान ह्वेलले एक महिलामाथि आक्रमण गरेको देखिन्छ । तर, विभिन्न सञ्चार माध्यमले गरेको तथ्य-जाँचबाट यो घटना कहिल्यै नभएको र भिडिओ पूर्ण रूपमा बनावटी भएको पुष्टि भएको छ । यतिसम्म कि जेसिका र्‍याडक्लिफ नाम गरेकी कुनै प्रशिक्षकको अस्तित्व रहेको कुनै आधिकारिक रेकर्ड, समाचार वा विश्वसनीय स्रोत फेला परेको छैन । विशेषज्ञले यो भिडिओ एआई प्रविधिको प्रयोग गरी बनाइएको झुटो सामग्री भएको बताएका छन् । यस घटनाले भ्रामक तथा मिथ्या सूचना अनलाइनमा कति छिटो फैलिन सक्छ र एकपटक भाइरल भएपछि त्यसलाई सच्याउन कति गाह्रो हुन्छ भन्ने देखाएको छ ।

प्रशिक्षक वा आक्रमणको कुनै रेकर्ड छैन

भाइरल भिडिओको केन्द्रमा रहेको कथा अनुसार र्‍याडक्लिफलाई दर्शककै अगाडि ओर्काले आक्रमण गरेको थियो । तर, ‘भोकल मिडिया’ लगायतका तथ्य-जाँच गर्ने संस्थाले समुद्री पार्कको इम्प्लोई रेकर्ड, सार्वजनिक डेटाबेस वा कुनै पनि समाचारमा र्‍याडक्लिफको नाम फेला पारेनन् । समुद्री सुरक्षा रिपोर्टमा पनि यस्तो कुनै घटना उल्लेख छैन । भिडिओको विश्लेषण गरेका विज्ञहरूले यसमा एआई-सिर्जित अडियो र असम्बन्धित पुराना फुटेज जोडिएको पत्ता लगाएका छन् । ‘द स्टार’ पत्रिकाका अनुसार केही भिडिओमा पानीमा महिनावारीको रगतका कारण ह्वेल उत्तेजित भएको जस्ता अवैज्ञानिक र अप्रमाणित विवरण थपेर घटनालाई थप सनसनीपूर्ण बनाउने प्रयास गरेका थिए । विज्ञका अनुसार यस्ता भावनात्मक विवरण थपेर मानिसलाई भ्रामक सामग्री शेयर गर्न प्रोत्साहित गरिन्छ ।यो झुटो कथालाई विश्वसनीय देखाउन विगतमा भएका वास्तविक घटनाबाट केही अंश मिसाइएको देखिन्छ । सन् २०१० मा फ्लोरिडाको सीवर्ल्डमा प्रशिक्षक डन ब्रान्चोको ओर्कासँगको भिडन्तमा मृत्यु भएको थियो । त्यस्तै सन् २००९ मा स्पेनको टेनेरिफस्थित एक समुद्री पार्कमा प्रशिक्षक एलेक्सिस मार्टिनेज मारिएका थिए । यी दुवै घटना व्यापक रूपमा रिपोर्ट गरिएका थिए र ‘ब्ल्याकफिस’ जस्ता डकुमेन्ट्रीमा पनि देखाइएको थियो ।विभिन्न अध्ययनले देखाए अनुसार मिथ्या समाचारले प्रायः वास्तविक घटना वा स्रोतबाट अंश लिएर आफूलाई विश्वसनीय देखाउने प्रयास गर्छन् । यसले समुद्री जनावरको व्यवहारबारे जनमानसमा गलत सूचना फैलाउने, जनावरलाई बन्दी बनाउने विषयमाथिको बहसलाई कमजोर पार्ने र वास्तविक पीडितका परिवारलाई अनावश्यक पीडा दिने जोखिम बढाउँछ । सामाजिक सञ्जाल कम्पनीले यस्ता झुट र एआई-सिर्जित सामग्रीलाई रोक्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् । नेपालका सन्दर्भमा पनि तिनै भिडिओ शेयर गर्दै प्रयोगकर्ताले थप भ्रम छरेको देखिन्छ । खासगरी टिकटक भिडिओ, फेसबुक तथा इन्स्टाग्राम रिल्समा पनि यी क्लिप पुनः अपलोड गरेका छन् । सञ्चार माध्यम दाबी गर्ने केही फेसबुक पेजले भिडिओ समेत तयार पारेका छन् । यही भारइरल भिडिओलाई लिएर तथ्य-जाँचकर्ताले एआई-निर्मित सामग्रीमा स्पष्ट लेबल लगाउन र छिटो कारबाही गर्न माग गरिरहेका छन् । प्रयोगकर्ताले अञ्जानमा वा जानजान यस्ता एआई सिर्जित भ्रामक सामग्री एआई लेबल बिनै शेयर गरेको पाए त्यसलाई तत्काल लेबल लगाउने व्यवस्था मिलाउन आवाज उठाइरहेका छन् ।

भाइरल भिडिओको सत्यता कसरी जाँच्ने ?

कुनै पनि भाइरल भिडिओ शेयर गर्नुअघि त्यसको सत्यता जाँच्न आवश्यक छ । टेकपानाले प्रकाशन गर्ने हरेक फ्याक्टचेक सामग्रीमा त्यसको प्रक्रिया स्पष्ट उल्लेख हुन्छ । भिडिओ, फोटो, अडियो लगायतका अन्य सामग्री कसरी भ्रामक, मिथ्या वा अपुष्ट भनी प्रमाणित हुन्छन् भन्ने ती फ्याक्टचेक सामग्रीमा समावेश गरिएको हुन्छ ।तपाईंले इन्टरनेटमा देखेका हरेक सामग्री सत्य नहुन सक्छन् । खासगरी मानवीय संवेदनासँग जोडिएका विषयमा बढी शंका गर्न सकिन्छ । विभिन्न किसिमका विपद्‍मा यस्ता सामग्री बढी भाइरल हुन्छन् । कुनै सामग्री तपाईंले आफ्नो सामाजिक सञ्जालको फिडमा बारम्बार देखिरहनु भएको छ र त्यस्ता सामग्रीमा पर्याप्त जानकारी छैन भने पनि शंका गर्न सकिन्छ । यसपछि तपाईंले आफै ति सामग्री तथ्यजाँच गर्न सक्नुहुन्छ । भिडिओ सामग्रीको तथ्यजाँच गर्ने प्रक्रिया तल उल्लेख गरिएको छ ।

१) विश्वसनीय समाचार स्रोतहरू जाँच गर्नुहोस् : के धेरै प्रतिष्ठित समाचार संस्थाले उक्त घटनाबारे रिपोर्ट गरेका छन् ?

२. रिभर्स इमेज सर्च प्रयोग गर्नुहोस् : सबैभन्दा पहिले भिडिओबाट स्पष्ट व्यक्तिको अनुहार, ठाउँ वा वस्तु देखिने फ्रेमको स्क्रिनशट लिनुहोस् । त्यसपछि ब्राउजरमा गुगल इमेज र मोबाइलमा गुगल लेन्स एपमा फोटो अपलोड गरेर रिभर्स इमेज सर्च गर्न सकिन्छ । यसबाट तस्बिरको मुख्य स्रोत फेला पार्न सकिन्छ । यदि त्यस तस्बिरसँग सम्बन्धित समाचार विश्वसनिय सञ्चार माध्यममा आएका छन्, सबै जानकारी स्पष्ट खुलाइएको छ भने विश्वास गर्न सकिन्छ । अन्यथा मिथ्या वा भ्रामक सूचना हुन सक्छ ।

३) फोटो वा भिडिओ राम्ररी नियाल्नुहोस् : अनुहार ब्लर छ, अडियो र ओठको चाल मिलेको छैन, अस्वाभाविक प्रकाश वा छाया देखिएको छ र मुख वा बङ्गारा वरपर देखिने प्राविधिक त्रुटि छ भने त्यो डिपफेक वा एआई सिर्जित भिडिओ हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *