ह्वेलले प्रशिक्षक जेसिका मारेको भन्दै भाइरल भिडिओ फेक, छुट्याउने कसरी ?

Byसदाम हुसैन

२०८२ श्रावण २६, सोमवार २०८२ श्रावण २६, सोमवार २०८२ श्रावण २६, सोमवार

काठमाडौ, २६ साउन। पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एक समुद्री प्रशिक्षक जेसिका र्‍याडक्लिफलाई ओर्का (किलर ह्वेल) ले मारेको दाबीसहितका भिडिओ भाइरल भइरहेका छन् । विश्वव्यापी रूपमा अर्बौं पटक हेरिएका यी भिडिओ डिजिटल साक्षरता कम भएका देशमा बढी चर्चित छन् ।भाइरल भएका विभिन्न फुटेजमा एक प्रत्यक्ष कार्यक्रमका दौरान ह्वेलले एक महिलामाथि आक्रमण गरेको देखिन्छ । तर, विभिन्न सञ्चार माध्यमले गरेको तथ्य-जाँचबाट यो घटना कहिल्यै नभएको र भिडिओ पूर्ण रूपमा बनावटी भएको पुष्टि भएको छ । यतिसम्म कि जेसिका र्‍याडक्लिफ नाम गरेकी कुनै प्रशिक्षकको अस्तित्व रहेको कुनै आधिकारिक रेकर्ड, समाचार वा विश्वसनीय स्रोत फेला परेको छैन । विशेषज्ञले यो भिडिओ एआई प्रविधिको प्रयोग गरी बनाइएको झुटो सामग्री भएको बताएका छन् । यस घटनाले भ्रामक तथा मिथ्या सूचना अनलाइनमा कति छिटो फैलिन सक्छ र एकपटक भाइरल भएपछि त्यसलाई सच्याउन कति गाह्रो हुन्छ भन्ने देखाएको छ ।

प्रशिक्षक वा आक्रमणको कुनै रेकर्ड छैन

भाइरल भिडिओको केन्द्रमा रहेको कथा अनुसार र्‍याडक्लिफलाई दर्शककै अगाडि ओर्काले आक्रमण गरेको थियो । तर, ‘भोकल मिडिया’ लगायतका तथ्य-जाँच गर्ने संस्थाले समुद्री पार्कको इम्प्लोई रेकर्ड, सार्वजनिक डेटाबेस वा कुनै पनि समाचारमा र्‍याडक्लिफको नाम फेला पारेनन् । समुद्री सुरक्षा रिपोर्टमा पनि यस्तो कुनै घटना उल्लेख छैन । भिडिओको विश्लेषण गरेका विज्ञहरूले यसमा एआई-सिर्जित अडियो र असम्बन्धित पुराना फुटेज जोडिएको पत्ता लगाएका छन् । ‘द स्टार’ पत्रिकाका अनुसार केही भिडिओमा पानीमा महिनावारीको रगतका कारण ह्वेल उत्तेजित भएको जस्ता अवैज्ञानिक र अप्रमाणित विवरण थपेर घटनालाई थप सनसनीपूर्ण बनाउने प्रयास गरेका थिए । विज्ञका अनुसार यस्ता भावनात्मक विवरण थपेर मानिसलाई भ्रामक सामग्री शेयर गर्न प्रोत्साहित गरिन्छ ।यो झुटो कथालाई विश्वसनीय देखाउन विगतमा भएका वास्तविक घटनाबाट केही अंश मिसाइएको देखिन्छ । सन् २०१० मा फ्लोरिडाको सीवर्ल्डमा प्रशिक्षक डन ब्रान्चोको ओर्कासँगको भिडन्तमा मृत्यु भएको थियो । त्यस्तै सन् २००९ मा स्पेनको टेनेरिफस्थित एक समुद्री पार्कमा प्रशिक्षक एलेक्सिस मार्टिनेज मारिएका थिए । यी दुवै घटना व्यापक रूपमा रिपोर्ट गरिएका थिए र ‘ब्ल्याकफिस’ जस्ता डकुमेन्ट्रीमा पनि देखाइएको थियो ।विभिन्न अध्ययनले देखाए अनुसार मिथ्या समाचारले प्रायः वास्तविक घटना वा स्रोतबाट अंश लिएर आफूलाई विश्वसनीय देखाउने प्रयास गर्छन् । यसले समुद्री जनावरको व्यवहारबारे जनमानसमा गलत सूचना फैलाउने, जनावरलाई बन्दी बनाउने विषयमाथिको बहसलाई कमजोर पार्ने र वास्तविक पीडितका परिवारलाई अनावश्यक पीडा दिने जोखिम बढाउँछ । सामाजिक सञ्जाल कम्पनीले यस्ता झुट र एआई-सिर्जित सामग्रीलाई रोक्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् । नेपालका सन्दर्भमा पनि तिनै भिडिओ शेयर गर्दै प्रयोगकर्ताले थप भ्रम छरेको देखिन्छ । खासगरी टिकटक भिडिओ, फेसबुक तथा इन्स्टाग्राम रिल्समा पनि यी क्लिप पुनः अपलोड गरेका छन् । सञ्चार माध्यम दाबी गर्ने केही फेसबुक पेजले भिडिओ समेत तयार पारेका छन् । यही भारइरल भिडिओलाई लिएर तथ्य-जाँचकर्ताले एआई-निर्मित सामग्रीमा स्पष्ट लेबल लगाउन र छिटो कारबाही गर्न माग गरिरहेका छन् । प्रयोगकर्ताले अञ्जानमा वा जानजान यस्ता एआई सिर्जित भ्रामक सामग्री एआई लेबल बिनै शेयर गरेको पाए त्यसलाई तत्काल लेबल लगाउने व्यवस्था मिलाउन आवाज उठाइरहेका छन् ।

भाइरल भिडिओको सत्यता कसरी जाँच्ने ?

कुनै पनि भाइरल भिडिओ शेयर गर्नुअघि त्यसको सत्यता जाँच्न आवश्यक छ । टेकपानाले प्रकाशन गर्ने हरेक फ्याक्टचेक सामग्रीमा त्यसको प्रक्रिया स्पष्ट उल्लेख हुन्छ । भिडिओ, फोटो, अडियो लगायतका अन्य सामग्री कसरी भ्रामक, मिथ्या वा अपुष्ट भनी प्रमाणित हुन्छन् भन्ने ती फ्याक्टचेक सामग्रीमा समावेश गरिएको हुन्छ ।तपाईंले इन्टरनेटमा देखेका हरेक सामग्री सत्य नहुन सक्छन् । खासगरी मानवीय संवेदनासँग जोडिएका विषयमा बढी शंका गर्न सकिन्छ । विभिन्न किसिमका विपद्‍मा यस्ता सामग्री बढी भाइरल हुन्छन् । कुनै सामग्री तपाईंले आफ्नो सामाजिक सञ्जालको फिडमा बारम्बार देखिरहनु भएको छ र त्यस्ता सामग्रीमा पर्याप्त जानकारी छैन भने पनि शंका गर्न सकिन्छ । यसपछि तपाईंले आफै ति सामग्री तथ्यजाँच गर्न सक्नुहुन्छ । भिडिओ सामग्रीको तथ्यजाँच गर्ने प्रक्रिया तल उल्लेख गरिएको छ ।

१) विश्वसनीय समाचार स्रोतहरू जाँच गर्नुहोस् : के धेरै प्रतिष्ठित समाचार संस्थाले उक्त घटनाबारे रिपोर्ट गरेका छन् ?

२. रिभर्स इमेज सर्च प्रयोग गर्नुहोस् : सबैभन्दा पहिले भिडिओबाट स्पष्ट व्यक्तिको अनुहार, ठाउँ वा वस्तु देखिने फ्रेमको स्क्रिनशट लिनुहोस् । त्यसपछि ब्राउजरमा गुगल इमेज र मोबाइलमा गुगल लेन्स एपमा फोटो अपलोड गरेर रिभर्स इमेज सर्च गर्न सकिन्छ । यसबाट तस्बिरको मुख्य स्रोत फेला पार्न सकिन्छ । यदि त्यस तस्बिरसँग सम्बन्धित समाचार विश्वसनिय सञ्चार माध्यममा आएका छन्, सबै जानकारी स्पष्ट खुलाइएको छ भने विश्वास गर्न सकिन्छ । अन्यथा मिथ्या वा भ्रामक सूचना हुन सक्छ ।

३) फोटो वा भिडिओ राम्ररी नियाल्नुहोस् : अनुहार ब्लर छ, अडियो र ओठको चाल मिलेको छैन, अस्वाभाविक प्रकाश वा छाया देखिएको छ र मुख वा बङ्गारा वरपर देखिने प्राविधिक त्रुटि छ भने त्यो डिपफेक वा एआई सिर्जित भिडिओ हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *