थुनाका अभियुक्तलाई धरौटी र जरिबानामा काठमाडौं अदालतको ‘दसैँ प्याकेज’

Byसदाम हुसैन

२०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार

सर्लाही, २९ असोज ।  कुनै मुद्दामा मागिएको धरौटी र फैसलाबमोजिमको जरिबाना रकम बुझाउन नसकेर थुनामा पठाइएका प्रतिवादीका लागि दसैँ बिदामा पनि यसपल्ट काठमाडौं जिल्ला अदालत खुला रहने छ । 

काठमाडौं अदालतले यसपल्टदेखि अभियुक्तको अवस्थालाई मध्यनजर गर्दै धरौटी–जरिबाना बुझाएर थुनामुक्त हुने सुविधा दिएको हो । काठमाडौं अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको पहलमा थुनाका अभियुक्तलाई धरौटी–जरिबानामा सुविधाका लागि यसपल्ट नयाँ योजना ल्याइएको हो । 

उक्त सुविधा लिन बिदाका दिन पनि अदालतमा चाप बढ्न थालेको छ । दसैँ बिदाको पाँच दिनमा आरोपित व्यक्ति, बैंकसहित सातजनाले सुविधा लिइसकेका छन् । दसैँ बिदामा बन्दीप्रत्यक्षीकरण, आरोपितको थुना म्याद थप, जरुरी पक्राउ पूर्जी समर्थन जस्ता सुविधाहरू भने पहिले पनि दिइने गरेको थियो । 

अदालतका स्रेस्तेदार घनेन्द्र अधिकारीले कुनै मुद्दामा धरौटी र जरिबानाको समस्याका कारण दसैँका बेला कसैलाई थुनाभित्र रहन नपरोस् भनेर नयाँ अभ्यास सुरु गरिएको जानकारी दिए । 

“पहिले यो अभ्यास थिएन । काठमाडौं अदालतमा अहिलेबाट दसैँ बिदामा प्रतिवादीको सुविधाका लागि यस्तो योजना सुरु गरिएको छ,” स्रेस्तेदार अधिकारीले जानकारी दिँदै भने, “धरौटी र जरिबाना बुझाउन नसकेर अदालतबाट थुनामा पठाइएका प्रतिवादीले दसैँ बिदामा पनि यस्तो रकम बुझाउन अदालतमा आउन सक्छन् । रकम बुझाए पछि छुटेर घर फर्किन पाउँछन् ।”

अदालतले दिएको यो सुविधाअनुसार असोज २५ गते घटस्थापनादेखि यता सात प्रतिवादीले धरौटी र जरिबाना बुझाएका छन् । असोज २५ देखि कात्तिक ८ गतेसम्म सबै अदालतमा दसैँ बिदा रहेको छ । बिदा अवधिमध्ये घटस्थापना, शनिबार, फूलपाती र विजया दशमी टीकाको दिनबाहेक अन्य दिन धरौटी र जरिबाना बुझाउन अदालत खुला राखिने छ ।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार, थुनाका प्रतिवादीको सुविधाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने छ । धरौटी दाखिल गर्न नसकी थुनामा राख्न पठाइएका प्रतिवादीहरूबाट धरौटी रकम दाखिल गर्न ल्याएमा बुझिदिने प्रवन्ध मिलाइएको छ । 

“फैसलाबमोजिम ठहर भएको जरिबाना रकम तिरेर छुट्ने भएमा जरिबाना रकम बुझिदिने निर्णय भएको छ,” सूचना अधिकारी खतिवडाले भने, “यसबाहेक बिदाका दिन बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने, जरुरी पक्राउ पूर्जी समर्थन र सो समर्थनसँगै उपस्थित अभियुक्तहरूको म्याद थप गर्ने, कल डिटेल्समा अनुमति प्रदान गर्ने र पक्राउ अनुमति प्रदान गर्ने सेवा सुविधा पनि दसैँ बिदामा छ ।” 

अदालतका अनुसार, उक्त सुविधाअन्तर्गत २०८१ सालमा दर्ता भएको दुर्गा प्रसाईं समेत प्रतिवादी भएको ‘संगठित रूपमा आपराधिक लाभ’ मुद्दाका प्रतिवादीले पनि धरौटी रकम बुझाएर छुटेका छन् । सूचना अधिकारी खतिवडाका अनुसार, उक्त मुद्दाका प्रतिवादीबाट तीन लाख धरौटी दाखिल भएको छ ।

यस्तै, प्रदीपकुमार कुशवाह समेतको लागु औषध मुद्दाका प्रतिवादी ७० हजार रुपैयाँ दाखिल गरी छुटेका छन् । यस्तै, मनिष गुरुङ समेत रहेको चोरी मुद्दाका प्रतिवादीले पनि बुझाउन बाँकी १० हजार रुपैयाँ दाखिल गरेर घर फर्किएका छन् । अर्को, वीरबहादुर सुनुवार समेत रहेको डाँका चोरी मुद्दाका प्रतिवादीले ४० हजार रुपैयाँ जरिबाना बुझाएका छन् ।

यसबाहेक ज्योति विकास बैंकविरुद्धको मुद्दाका प्रतिवादीबाट जरिबानाका लागि दुईवटा निवेदन अदालतमा पेस भएका छन् । अदालतका अनुसार, एनएमबि क्यापिटल बैंकसँग जोडिएका प्रतिवादीबाट पनि निवेदन पेस भएको छ । अहिलेको अवस्था हेर्दा यसबीचमा थुनामुक्तिका लागि धरौटी र जरिबाना दाखिल गर्न आउने अभियुक्तको संख्या अझै बढ्नसक्ने अनुमान अदालतका अधिकारीको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *