सर्लाही, २ असार । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण भएको घटनालाई लिएर प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको हो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले वडाध्यक्ष गुप्ताविरुद्ध उजुरी परेकाले सोमबार बेलुका नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो ।

वडाध्यक्ष गुप्तालाई सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले गुप्तासहित जनता समाजवादी पार्टी नेपाल गोडैता नगरपालिका–५ का वडा समिति अध्यक्ष सुरेन्द्र यादवलाई समेत नियन्त्रणमा लिएको छ ।

गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले वडाध्यक्ष गुप्ता निर्दोष रहेको दाबी गर्नुभएको छ । अदालतका कर्मचारीमाथि हातपात हुँदा वडाध्यक्ष गुप्ता भारतमा रहेको भए पनि प्रहरीले दुःख दिने नियतले पक्राउ गरेको नगरप्रमुख यादवको आरोप छ ।

अदालतका कर्मचारीमाथि वडाध्यक्षको समूहले नभई गाउँका केही महिलाले हातपात गरेको मेयर यादवको भनाइ छ । प्रहरीले भने वडाध्यक्ष गुप्तासहितका व्यक्तिमाथि उजुरी परेकाले पक्राउ गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *