सर्लाही, ४ असार । नेपाल–भारत सीमालाई थप व्यवस्थित, सुरक्षित र स्पष्ट बनाउने उद्देश्यले दुवै देशका उच्च अधिकारीहरूको सहभागितामा नेपाल–भारत सीमा दोस्रो फिल्ड सर्भे टोलीको बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।
सीमावर्ती क्षेत्रका समस्या समाधान, सीमा स्तम्भको संरक्षण तथा नयाँ स्तम्भ निर्माणलाई प्राथमिकतामा राख्दै बैठकले महत्वपूर्ण छलफल गरेको छ ।
बैठकमा भारततर्फबाट ईस्ट चम्पारण, वेस्ट चम्पारण, सुपौल, मधुबनी र सीतामढी जिल्लाका अधिकारीहरूको सहभागिता रहेको थियो भने नेपालतर्फबाट धनुषा, महोत्तरी, पर्सा, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी भएका थिए ।
त्यस्तै, दुवै देशका जिल्ला सुरक्षा प्रमुख, नापी कार्यालयका प्रमुख, डिभिजन वन कार्यालयका प्रतिनिधि, पूर्वाधारसम्बन्धी कार्यालयका अधिकारी, सीमा व्यवस्थापनसँग सम्बन्धित विभागीय प्रतिनिधि तथा भारतीय वाणिज्य दूतावासका अधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैठकमा यसअघि सम्पन्न पहिलो फिल्ड सर्भे टोली बैठकले गरेका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो ।
विशेषगरी सीमाक्षेत्रमा नयाँ सीमा स्तम्भ निर्माण, पुराना तथा क्षतिग्रस्त स्तम्भहरूको मर्मत–सम्भार, हराएका वा अस्पष्ट बनेका पिलरहरूको पहिचान तथा सीमा सर्वेक्षणको प्रगति विषयमा गहन छलफल भएको थियो ।
सीमावर्ती क्षेत्रमा देखिने विभिन्न प्राविधिक तथा व्यवस्थापकीय चुनौतीलाई समाधान गर्दै सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् ।
बैठकमा आगामी दिनमा नेपाल सरकार र भारत सरकारबीच भएका संयुक्त निर्णय तथा सहमतिअनुसार साझा कार्ययोजना तयार गरी सीमा स्तम्भहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनलाई तीव्रता दिने समझदारी भएको बताइएको छ ।
छलफलका क्रममा सीमा क्षेत्रमा देखिने प्राकृतिक तथा मानवीय कारणले उत्पन्न समस्याहरू, नदीको बहाव परिवर्तनका कारण सीमा स्तम्भमा पर्ने असर, सीमा क्षेत्रको नियमित अनुगमन तथा प्राविधिक सहकार्यका विषयहरू पनि उठान गरिएको थियो ।
सर्भे टोलीको पहिलो बैठक भारतको रक्सौलमा सम्पन्न भएको थियो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र सीमा व्यवस्थापनलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउन दुवै देश प्रतिबद्ध रहेको सन्देश दिएको छ ।
उनका अनुसार सीमा स्तम्भ निर्माण, मर्मत–सम्भार तथा सीमा रेखाको संरक्षणका विषयमा दुवै पक्षबीच सकारात्मक सहमति बनेको छ ।
नेपाल–भारतबीचको खुला सीमालाई व्यवस्थित र सुरक्षित राख्न यस्ता संयुक्त बैठकहरू महत्वपूर्ण मानिन्छन् । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको हित, सीमा विवाद न्यूनीकरण तथा दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउन पनि यस्ता प्राविधिक तथा प्रशासनिक संवादले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
