सर्लाही, ४ असार । सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउने विषयमा आनाकानी गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार असार महिनामा प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ टुंगो लागेको छैन । यो टुंगो लगाउने जिम्मेवारी सभामुख अर्यालको हो ।

नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

जसको उपनियम १ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

यसअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने दिन तोकेका छैनन् ।

पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

तर, यसमा सभामुखको ध्यान गएको छैन ।

जेठ महिनामा पनि प्रतिनिधिसभा नियमावली अनुसार संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।

तथापि, १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्न लिएर जवाफ दिएका थिए । त्यसदिन प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिमा विपक्षीहरू आपत्ति जनाएर प्रधानमन्त्री बालेनबाटै जवाफ खोजिरहेका छन् ।

यस्तो अवस्थामा पनि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने वा नहुने टुंगो लाग्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *