सर्लाही, ४ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।
सुरूमा गाउँसँग पिरती थियो । त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाइ थियो ।
उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसदमा सुनाए ।
उनले भने, ‘एउटा गीत छ–मत यस्तो होइन दाइ, पिरतीले जोगी बनायो। यो पहिला पहिलातिरको समयमा गाइन्थ्यो यो गीत । अब म पनि त्यस्तो संसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो । एउटा लामो कहानी छ । पिरती मेरो कसरी कोसँग बसेर म जोगी भए? भन्ने कुरा आयो क्या। र, मन्त्री भए भन्ने कुरा आयो । मेरो पिरती खासमा देशसँग बसेको हो । तर सुरूमा एकैचोटि देशसँग बसेको होइन । त्यो चाहिँ गाउँसँग बस्यो । म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भएँ । पक्का जोगी हो म चाहिँ । व्यावहारिक रूपमा पनि म जोगी नै हो ।’
मन्त्री पुनले पिरतीले जोगी बनाएको गीतको स्मरण गराउँदै उनले आफू व्यावहारिक रूपमा सोही गीतले भनेझै जोगी भएको बताए ।
