सर्लाही, ५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार अपराह्न करिब ४ बजे मलंगवा नगरपालिका-१० स्थित झिम नढीकाे पुल नजिक भारतबाट नेपालतर्फ आउँदै गरेका मोटरसाइकल चालकहरूमाथि शंका लागेपछि जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको हो ।
प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ ३२ लाख, दुईवटा मोटरसाइकल तथा दुई थान मोबाइल फोनसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद भएका सामग्रीमा ओप्पो कम्पनीको रेनो-११ र सामसुङ कम्पनीको एम-३६ मोडेलका मोबाइल रहेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुड्डु कुमार यादव र रामनगर गाउँपालिका–१ निवासी २४ वर्षीय रमेश कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार बीआर ३० एपी ०८८२ नम्बरको भारतीय मोटरसाइकलसहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
बरामद रकम र अन्य सामग्रीको स्रोत खुल्न नसकेपछि थप अनुसन्धानका लागि हुण्डी कारोबारसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
