सर्लाही, ०६ जेठ । नेपाल शिक्षक महासंघले आगामी साउन २ र ३ गते काठमाडौँमा तेस्रो राष्ट्रिय परिषद् गर्ने भएको छ ।
यसमा सहभागिताका लागि महासंघको राष्ट्रिय समितिले सबै जिल्ला समितिबाट अनिवार्य सहभागी हुन निर्देशन दिएको छ ।
यस विषयमा महासंघले आफ्ना सबै जिल्ला समिति, सबै जिल्ला समिति आबद्ध तथा सम्बद्ध संस्था र सबै जिल्ला प्रतिनिधि (राष्ट्रिय समितिबाट तोकिएअनुसार) लाई नौबुँदे निर्देशन/जानकारी जारी गरेको छ ।
जुन यस्तो छ :
२०८३ असार ४ गते बसेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिअन्तर्गत विस्तारित कार्यालयीय बैठकको निर्णयअनुसार यो निर्देशन तथा जानकारी पठाइएको छ र सोहीबमोजिम गर्नु/गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।
१. नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् २०८३ साउन २ र ३ गते काठमाडौँमा गरिने भएकोले नेपाल शिक्षक महासंघका सबै जिल्ला समितिबाट अनिवार्य सहभागिता हुनुहुन ।
२. यस राष्ट्रिय परिषद्मा समसामयिक परिस्थिति तथा आम शिक्षक-कर्मचारीको भावना समेतलाई दृष्टिगत गरी महासंघको विधान संशोधन गरिने हुँदा संशोधनसम्बन्धी कुनै विषय भए सुझावको रूपमा राष्ट्रिय समितिमा पठाउनु हुन ।
३. राष्ट्रिय परिषद्मा भाग लिन आउँदा आफ्नो जिल्लामा अनिवार्य रूपमा जिल्ला परिषद् सम्पन्न गरी सक्नुहुन तथा जिल्ला परिषद्मा जिल्लाका लागि तोकिएको प्रतिनिधि (सहजकर्ता) लाई अनिवार्य आमन्त्रण गरी सहभागी गराउनु हुन। साथै विधानमा तोकेबमोजिमको शुल्क केन्द्रमा पठाउनु हुन ।
४. नेपाल शिक्षक महासंघ जिल्ला समिति गठन नभएका जिल्लाको हकमा केन्द्रबाट तोकिएको प्रतिनिधिसँग सम्पर्क र समन्वय गरी अविलम्ब जिल्ला समिति गठन कार्य सम्पन्न गर्नुहुन र तोकिएको शुल्क केन्द्रको खातामा जम्मा गर्नु गराउनु हुन ।
५. जिल्लाको लागि तोकिएका प्रतिनिधि (सहजकर्ता) ले अनिवार्य रूपमा सम्बन्धित जिल्लामा सम्पर्क गठन कार्य अघि बढाउनु हुन र सोको जानकारी राष्ट्रिय कार्यालयमा पठाउनु हुन ।
६. जिल्ला समिति गठनका क्रममा सबै संस्थाबिच सहमति हुन नसकेको जिल्लाको हकमा संस्थाहरूका बिचमा बैठक राखी राष्ट्रिय समितिबाट प्राप्त भएको निर्देशनअनुसार समस्या समाधान गर्न पदाधिकारी तहबाट यसअघि नै प्रतिनिधि खटाइएकोले सम्बन्धित प्रतिनिधिले सो कार्य सम्पन्न गरी राष्ट्रिय समितिका प्रतिवेदन पेस गर्नुहुन ।
७. विद्यालय कर्मचारी तथा संघीय सिकाइ अनुदान शिक्षकबाट आरम्भ गरिएको आन्दोलनको समर्थन गर्नुहुन ।
८. आफ्नो जिल्लाअन्तर्गत शिक्षक-कर्मचारीका कुनै फरक र विशिष्ट किसिमका समस्या भए सोको लिखित जानकारीसमेत राष्ट्रिय समितिमा पठाउनु हुन ।
९. राष्ट्रिय परिषद्को अवसरमा स्मारिका प्रकाशन गरिने भएकोले आफ्ना जिल्लाका साँगठनिक गतिविधि तथा जिल्ला समितिको सम्पूर्ण नामावली लेटर हेडमा लेखी केन्द्रमा पठाउनु हुन।नोट : राष्ट्रिय परिषद्मा सहभागीको विवरण र शुल्क पत्रमार्फत जानकारी गराइनेछ ।
बोधार्थ : सबै आबद्ध/सम्बद्ध संस्थाका संघीय/राष्ट्रिय तथा केन्द्रीय समितिहरू सोबमोजिमको जानकारी आफ्ना मातहतका जिल्ला समितिहरूलाई गराउँदै पत्राचार गरिदिनुहुन ।
