सर्लाही, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । 

आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए । 

उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि बताए ।

उनले भने,‘राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो । व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो ।

राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो ।

त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अभियान हो । हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ ।

भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ । हामी आमूल सुधारको राजनीतिमार्फत कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ ।

हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ ।’

उनले नागरिक र राज्यबीचको विश्वासको पुल भत्किन थालेपछि परिवर्तनको चाहना विद्रोहमा परिणत भएको र त्यसैको लोकतान्त्रिक आवाजका रूपमा रास्वपा स्थापित भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *