काठमाडौं, ९ असार । जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको सङ्ख्या अत्यधिक बढेको छ ।

अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ ।

गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिकामध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ । ‘नेचर क्लाइमेट चेन्ज’ जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् १९७० को दशकदेखि सन् २०२४ सम्म हिट स्ट्रेस कसरी बढ्यो ? भन्ने अध्ययनमा रेकर्ड गरिएको छ ।

रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन, त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ ।

यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा ‘हिट स्ट्रेस’को समस्या बढिरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीडित बनिरहेको बताउनुभएको छ ।

स्पेन, पोर्चुगल, इटाली र फ्रान्स जस्ता केही देशहरूमा अहिले ‘महशुस गरिने’ तापक्रम सन् १९७० को दशकको तुलनामा पाँच डिग्री सेल्सियससम्म बढी रहेको एमर्टनले बताउनुभयो ।

फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा दुई बालबालिकाको ज्यान गएको छ । सन् १९७० को दशकको तुलनामा झण्डै एक अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *