सर्लाही, १२ असार । सर्लाहीमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धनसम्बन्धी जिल्ला स्तरीय समीक्षा एवं सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा भएको कार्यक्रममा सडक दुर्घटनाको अवस्था, कारण, जोखिम तथा न्यूनीकरणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा ट्राफिक झलक शर्माको प्रस्तुतिम देखिएका तथ्यांकअनुसार विश्वभर प्रत्येक वर्ष करिब १३ लाख ५० हजार मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ भने करोडौं मानिस घाइते हुने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ७३ प्रतिशत पुरुष र २७ प्रतिशत महिला रहेका छन् ।

५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको प्रमुख कारणमध्ये सडक दुर्घटना एक रहेको तथा किशोर–किशोरीमा यो अझ गम्भीर समस्या बनेको जानकारी दिइयो ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार देशभर २८ हजार ६९२ वटा सडक दुर्घटना हुँदा २ हजार ५४९ जनाको मृत्यु भएको छ ।

मधेश प्रदेशमा मात्र ५६४ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गरिएको थियो । सर्लाहीमा आर्थिक वर्ष २०८०/८१ मा ७३ जना र २०८१/८२ मा ५६ जनाको मृत्यु भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ६७ जनाले ज्यान गुमाइसकेका छन् ।

अभिमुखीकरणमा सुरक्षित लेन परिवर्तन र ओभरटेक गर्ने सही तरिकाबारे पनि प्रशिक्षण दिइएको थियो । लेन परिवर्तन गर्दा ऐना हेर्ने, साइड लाइट बाल्ने, ब्लाइन्ड स्पट जाँच गर्ने तथा सुरक्षित भएपछि मात्र लेन परिवर्तन गर्नुपर्ने बताइयो ।

त्यसैगरी ओभरटेक गर्दा चालकको संकेतको प्रतीक्षा गर्ने, दाहिनेतर्फबाट मात्र ओभरटेक गर्ने र संकेत बत्तीको प्रयोग अनिवार्य गर्नुपर्नेमा जोड दिइयो ।

कार्यक्रममा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार चालक बन्न आवश्यक योग्यता तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन हुने अवस्थाबारे समेत जानकारी गराइएको थियो ।

ऐनअनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन प्रमाणित भएमा चालक अनुमति पत्र छ महिनासम्म निलम्बन हुन सक्ने तथा ट्राफिक प्रहरीले जारी गरेको जरिवाना २४ घण्टाभित्र नबुझाएमा कानुनी कारबाही हुने व्यवस्था रहेको जानकारी दिइयो ।

सरोकारवालाहरूले सडक दुर्घटनाका करिब ९४ प्रतिशत घटनामा मानवीय त्रुटि मुख्य कारण हुने भएकाले ट्राफिक नियमको कडाइका साथ पालना, सुरक्षित सवारी सञ्चालन, मादक पदार्थ सेवनपछि सवारी नचलाउने तथा जनचेतना अभिवृद्धिमार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने निष्कर्ष निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *