सर्लाही, १३ असार । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन सक्रिय रहेको छ । साथै, आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा पनि मनसुन फैलिने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (लु) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
त्यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा चट्याङबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
