सर्लाही, १४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको मूल्याङ्कन र विकास आवश्यक हुने धारणा राखे । 

उनले भने,‘तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका निार्वह गर्नुभएको छ ।

प्रचण्डले ०७४ सालको निर्वाचनअघि यही हलबाट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कार्यगत एकता र पछि पार्टी एकताको घोषणा गरिएको स्मरण गर्दै अहिले पनि दुई पार्टीका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताए ।

उनले भने,‘७४ सालको निर्वाचन आउँदै थियो, हामीले यही हलमा कार्यगत एकता र निर्वाचनमा सहकार्यको घोषणा गरेका थियौँ । त्यहीँबाट पार्टी एकतामा जाने उद्घोष पनि गरेका थियौँ । आज फेरि यही हलमा हामी तिनै दुई पार्टीका नेताहरू मात्रै छौं ।’

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठनको घोषणा मदन भण्डारीको स्मृतिदिवस जेठ ३ गते नै गरिएको उल्लेख गर्दै त्यसको विशेष राजनीतिक र वैचारिक अर्थ रहेको बताए ।

प्रचण्डले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासनहरू पतन भएको कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे ।

‘नेपालजस्तो देशमा कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न, परिस्थितिको गम्भीरता र संवेदनशीलतालाई बुझेर नै कमरेड मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गरिएको हो । त्यसको ऐतिहासिकता र महत्त्व त्यसैमा छ,’ उनले भने । 

प्रचण्डले इतिहासलाई समय र परिस्थितिको सन्दर्भमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै कुनैपनि नीति वा विचारलाई स्थायी सत्यका रूपमा लिन नहुने बताए ।

‘सबै कुरा सर्वकालिक हुँदैनन्। ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको जीवित आत्मा हो। सबै सत्यहरू सापेक्षिक छन्, निरपेक्ष केही पनि छैन,’ उनले भने ।

उनले माक्र्सवादी दर्शनले परिवर्तनलाई नै स्थायी सत्यका रूपमा स्वीकार गर्ने भएकाले समयको मागअनुसार नीति, सिद्धान्त र कार्यदिशाको विकास गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *