सर्लाही, १८ असार । सरकारले अवैध सट्टेबाजी सञ्चालन गरिरहेका २६ एप र झण्डै साढे २ लाख बेटिङ साइट बन्द गरेको छ । 

सूचना तथा सञ्चार मन्त्रालयले नियामक नेपाल दूरसञ्चार प्राधिकरणमार्फत २६ मोबाइल एप र झण्डै साढे २ लाख बेटिङ साइट विभिन्न सेवा प्रदायकहरूमार्फत बन्द गराएको हो । 

सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई नेपालभित्र सञ्चालनमा रहेका अवैध अनलाइन बेटिङ, ग्याम्बलिङ र सट्टेबाजी वेबसाइट तथा एपहरू बन्द गर्न चैत १५ गते सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । सोही अनुसार प्राधिकरणले विभिन्न सेवा प्रदायकहरूमार्फत् हालसम्म २६ मोबाइल एप तथा बेटिङ वेबसाइट बन्द गराएको छ । 

जसअन्तर्गत इन्टरनेट सेवा प्रदायक वेबसर्फरले अवैध सट्टेबाजी सञ्चालन गरिरहेका ३५ हजार ४५४ वेबसाइट ब्लक गराएको छ । त्यसपछि डिसहोमले २५ हजार ५३८, क्लासिटेकले २५ हजार ५१६, सजिलो नेटले २४ हजार ९३६ वेबसाइट बन्द गराएको छ । 

त्यसैगरी, मोबाइल सेवा प्रदायकसमेत रहेको एनसेलले २२ हजार २२६ वेबसाइटको डोमेन ब्लक गरेको छ । वर्ल्डलिंकले २२ हजार ६३, नेपाल टेलिकमले २१ हजार ७४३, टेकमाइन्ड्सले २१ हजार ७६८, सुबिसुले २१ हजार ७०५ साइट बन्द गराएको छ । 

यस्तै, इन्टरनेट सेवा प्रदायक सिजी नेटले १७ हजार ७०६, इस्टलिंकले १४ हजार ३०४, भायानेटले १० हजार ४४६ र पोखरा नेटले ७ हजार ३३४ बेटिङ साइट बन्द गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *