सर्लाही, २८ साउन । सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहले उखु किसानको भुक्तानी दिन आलटाल गरेको छ ।
उद्योगले चार करोड रुपियाँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको उखु किसानले दाबी गरेका छन् । उद्योगलाई गएको माघमै उखु बिक्री गर्नुभएका गोडैता नगरपालिका–१, बहादुरपुरका किसान देवेन्द्र कापरले मिलबाट अहिलेसम्म पूरा भुक्तानी नपाउँदा आर्थिक समस्या परेको गुनासो गरेका छन् ।
पाँच बिघा खेतमा उखु लगाएका कापरले उद्योगले केही रकम भुक्तानी दिएर अरु बाँकी राखेको जानकारी दिए । उनले भने, “बाँकी रहेको पैसा लिन बारम्बार मिलमा धाइरहेको छु तर सुनुवाइ भइरहेको छैन् ।
चिनी मिलबाट पाउनुपर्ने भुक्तानी र सरकारले दिने घोषणा गरेको प्रतिक्विन्टल ७० रुपियाँ अनुदान रकम नपाउँदा घर व्यवहार धान्न, बालबालिकाको अध्ययन शुल्क बुझाउन र अहिले हुर्कदै गरेको उखु बालीमा मलखाद हाल्न समस्या परेको किसानले गुनासो गरेका छन् । गोडैता नगरपालिकाका प्रमुख एवं उखु किसान नेता देवेन्द्र यादवले महालक्ष्मी चिनी उद्योगले यो वर्ष पनि बद्मासी गरेर उखु किसानमाथि अन्याय गरेको आरोप लगाएका छन् ।
चिनी उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले चैतभित्रैमा सम्पूर्ण उखु किसानको भुक्तानी गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन हुन नसकेको नगरप्रमुख यादवको आरोप छ । उद्योगपति कनौडियाले गोडैता नगरपालिका, बलरा नगरपालिका र रामनगर गाउँपालिकाका पालिका प्रमुखसँग अन्य चिनी मिललाई आफ्नो पालिकाभित्र उखु तौल गर्ने काँटा राख्न नदिन र सबै उखु आफूले नै खरिद गरेर चैतभित्रमा भुक्तानी गर्ने सहमती गरेर कार्यान्वयन नगरेको नगरप्रमुख यादवको गुनासो छ ।
महालक्ष्मी चिनी उद्योगले प्रत्येक वर्ष चिनी उद्योग सञ्चालन गर्नुअघि मात्रै किसानको सम्पूर्ण भुक्तानी गर्ने गरेको नगर प्रमुख यादवको भनाइ छ । “अन्यत्रको भन्दा आफ्नै ठाउँको उद्योगलाई उखु दिऊँ न त भनेर तीन पालिका मिलेर यो पटक अरु चिनी मिललाई काँटा राख्न निषेध गरेका थियौँ,” नगरप्रमुख यादवले भने, “जुन उद्योगका लागि हामी उदार बन्यौँ त्यही उद्योगबाट धोका भयो ।”
उद्योगलाई किसानको बाँकी बक्यौता भुक्तानी गर्न बारम्बार घच्घच्याउने काम गरिरहेको नगरप्रमुख यादवले बताए । उद्योगले भने चिनी बिक्री नभएकाले उखु किसानको बाँकी पैसा भुक्तानी गर्न समस्या परेको जनाएको छ ।
महालक्ष्मी चिनी उद्योगका उखु प्रवन्धक शिवशङ्कर महतोले उद्योगसँग २५ करोड रुपियाँको चिनी बिक्री नभएर थन्किएको जानकारी दिए । किसानले दाबी गरे अनुसार बक्यौता रकम चार करोड रुपियाँ नभइ डेढ करोड जति मात्रै बाँकी रहेको उखु प्रवन्धक महतोले बताए ।
अब चिनी बिक्री नभए पनि यथाशिघ्र किसानको बक्यौता रकम भुक्तानी गर्ने उखु प्रवन्धक महतोको भनाइ छ । “स्टकमा रहेको चिनी बिक्री नभएर समस्या परेको हो,” उखु प्रवन्धक महतोले भने, “अब चिनी न बिके पनि केही दिनभित्रै किसानको बाँकी पैसा दिन्छौँ ।” – स्राेत उज्यालो अभियान