सर्लाही, २३ असार । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार र लजिस्टिक्स सुधारका लागि कुल १६५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा दुईवटा ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना’का लागि ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण परिचालन हुनेछ ।

उक्त रकम स्थानीय तहमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ ।

त्यसैगरी ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) तथा लजिस्टिक्स सुधार कार्यक्रम–उपकार्यक्रम २’ अन्तर्गत ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ ।

यो रकम भन्सार कार्यप्रक्रिया तथा लजिस्टिक्स सेवाको आधुनिकीकरणका लागि गरिएका सुधारबापत बजेटरी सहयोगका रूपमा परिचालन गरिनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एडीबीले पुर्याउँदै आएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा दुवै पक्षबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

एडीबीका अध्यक्ष कान्डाले नेपालसँग रहेको करिब छ दशक लामो सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै नेपालको बाह्य तथा आन्तरिक चुनौतीहरूको सामना गर्न बैंक सधैं सहयोगी रहने बताए । उनले नेपालको विकास प्राथमिकता र एडीबीको सहयोगबीच घनिष्ठ तालमेल रहेको पनि उल्लेख गरे ।

कार्यक्रममा नेपाल सरकार तथा एडीबीका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *