सर्लाही, २३ असार । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना तथा श्रम क्षेत्रको सुधारका लागि सरकार युद्धस्तरमा काम गरिरहेको बताएका छन् ।

राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले सरकारले आगामी वि.सं. २०८३ देखि २०९२ सम्मको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’ का रूपमा घोषणा गरिसकेको र सोहीअनुसार राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार भइरहेको जानकारी दिए ।

उनले मुलुकमा पहिलोपटक ‘हेरचाह अर्थतन्त्र’ सम्बन्धी नीति निर्माणको प्रक्रिया पनि सुरु गरिएको बताए ।

उनले भने, ‘आन्तरिक रोजगारीलाई प्रातमिकतामा राखेर सरकारले २०८३ देखिको दशकलाई ‘रोजगार प्रवद्र्धन दशक’ का रूपमा घोषणा गरिसकेको छ ।

राष्ट्रिय रोजगार नीति–२०७१ लाई समय सापेक्ष बनाउन राष्ट्रिय रोजगार नीति–२०८३ को मस्यौदा तयार भइरहेको छ । साथै मुलुकमा पहिलोपटक ‘केयर इकोनोमि’ पोलिसी सम्बन्धी नीति निर्माणको प्रक्रिया सुरु गरिएको छ ।’

उनले श्रम अधिकारलाई कार्यस्थलमै प्रभावकारी रूपमा लागू गर्न सरकारले ‘कारबाही र प्रोत्साहन’ को नीति अवलम्बन गरेको उल्लेख गरे ।

उनले सरकार गठनको १०० दिनमा निरीक्षण तथा मुद्दा फस्र्यौटका क्रममा श्रमिकको हितविपरीत कार्य गर्नेहरूबाट चार करोड ४० लाख ९६ हजार २ सय ५ रुपैयाँ जरिवाना तथा सहमतिबापत असुल गरिएको जानकारी उनले दिए ।

‘सय दिनमा १ हजार ३ सय २१ प्रतिष्ठानमा श्रम निरीक्षण गरिएको छ । श्रमिकबाट निवेदन वा मुद्दा परेपछि अथवा निरीक्षणका क्रममा श्रम शोषण सम्बन्धि विषयमा कारबाही हुँदा जरिवाना वा सहमति बापत ४ करोड ४० लाख ९६ हजार २ सय ५ रुपैयाँ जम्मा गराइएको छ । परिणाम स्वरुप निरिक्षणदर विगतको ९ महिनाको तुलनामा ६० प्रतिशत बृद्धि भएको छ ।’

मन्त्री यादवका अनुसार सरकार गठन भएको सय दिनमै वैदेशिक रोजगारीसँग सम्बन्धित १ हजार ४ वटा मुद्दा तथा उजुरी फस्र्यौट गरी पीडितलाई ३० करोड ७५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

यो मासिक औसतका आधारमा अघिल्लो सरकारको तुलनामा ६ सय २८ प्रतिशतले बढी भएको उनले दाबी गरे ।

उनले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि ‘एक्सन कमान्ड सेन्टर’ र ‘अपरेसन इलिगल एजेन्ट’ अभियान सञ्चालनमा ल्याइएको बताए ।

साथै, वि.सं. २०५७ यताका ११ हजार ५ सय २८ वटा मुद्दाका फाइल डिजिटल प्रणालीमा रूपान्तरण गरिएको र उजुरीको अवस्थाबारे जानकारी लिन वेब पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए ।

युवालाई स्वदेशमै रोजगारीसँग जोड्न मन्त्रालयले ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिस कार्यक्रम तथा ‘करियर उडान’ कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्री यादवले बताए ।

यसका लागि काठमाडौँ विश्वविद्यालय र भारतीय प्रविधि संस्थानसँगको सहकार्यमा सीप विकास तालिम तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो ।

स्वदेशी रोजगार कार्यक्रमलाई अब केवल अल्पकालीन रोजगारीमा सीमित नराखी सीप विकास र उद्यमशीलतासँग जोडिने उनले बताए ।

विदेशबाट फर्किएका श्रमिकको सीप उपयोगका लागि ‘रिटर्नी व्यवस्थापन सूचना प्रणाली’ परीक्षणका क्रममा रहेको र सम्बन्धित परियोजनामार्फत हालसम्म १ हजार ६६ जनाले रोजगारी वा स्वरोजगारी प्राप्त गरिसकेको जानकारी उनले दिए ।

मन्त्री यादवले वैदेशिक रोजगारीलाई प्रोत्साहन गर्नेभन्दा पनि त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *