सर्लाही, २३ असार । सर्लाहीमा ६० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी अनुसार आइतबार राति ब्रह्मपुरी गाउँपालिका- २ धर्मपुरस्थित कबिलपुर हरिवनबाट नाढीमनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ५४७९ नम्बरको अटोलाई रोकी जाँच गरेको थियो ।
चेकजाँचका क्रममा अटोको डिक्की र सिटमुनी लुकाइछिपाई रातो प्लास्टिकमा बेरेर राखिएको १२ वटा पोकामा करिब ६० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा अटो चालक बागमती नगरपालिका–११ शंखदह निवासी ३५ वर्षीय शिवविक्रम रायमाझी र अटोमा सवार ऐंसेलुखर्क निवासी ३५ वर्षीय प्रदीप मगर पक्राउ परेका छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम ले जानकारी दिएका छन् ।
