सर्लाही, २३ असार ।  मिनी अक्सनमार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ५२ खेलाडी अनुबन्ध भएका छन् । सोमबार काठमाडौंमा भएको अक्सनबाट १५५ खेलाडीमध्ये ५२ खेलाडी विभिन्न ८ टोलीमा अनुबन्ध भए ।

अक्सनमा राष्ट्रिय टोलीका ओपनर एवम् विकेटकिपर ब्याटर आसिफ शेख सर्वाधिक रकममा अनुबन्ध भए । उनलाई अनुबन्ध गर्न चितवन राइनोजबाहेकका ७ टोलीले बोली लगाएका थिए ।

लक्की ‘ड्र’ मा लुम्बिनी लायन्स भाग्यमानी बन्यो । दोस्रो सिजनको विजेता लुम्बिनीले २० लाखमा आसिफलाई अनुबन्ध गर्‍यो ।

पहिलो र दोस्रो सिजन मार्की प्लेयरका रुपमा खेलका आसिफलाई यसपटक जनकपुर बोट्सले रिलिज गरेको थियो । घाइते भएर अघिल्लो सिजन गुमाएका विवेककुमार यादव, रुपेश सिंह, तृतराज दास र अर्जुन घर्ती अधिकतम मुल्य १५ लाखमा अनुबन्ध भए ।

अधिकतम मूल्यमा एकभन्दा बढी टोलीले बोली लगाएपछि लक्की ‘ड्र’मार्फत विवेक चितवन, रुपेश विराटनगर, तृतराज जनकपुर र अर्जुन पोखरामा अनुबन्ध भए ।

सुनिल धमला, शंकर राना, भुवन कार्की, नरेन भट्ट र दिपेश कँडेलसहितका केही चर्चित खेलाडी अनशोल्ड हुन पुगे ।

जनकपुर बोल्ट्स

मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको जनकपुरले तिर्थराज दासलाई १५ लाखमा अनुबन्ध गरेको छ । तिर्थलाई किन्न अधिकतम मूल्यमा लुम्बिनी जनकपुरसँगै लुम्बिनीले बोली लगाएको थियो । जसमा जनकपुर भाग्यमानी बन्यो ।

जनकपुरले तिर्थसँगै अभिषेक तिवारी, विशाल पटेल, अमरसिंह रौटेला, रित गौतम, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिङलाई अनुबन्ध गरेको छ ।

अनिल कुमार शाह, ललित नारायण राजवंशी, विकाश आग्री, मायन यादव र आदित्य मेहतालाई भने यसअघि नै रिटेन गरिसकेको छ ।

अक्सनमार्फत भित्रिएका खेलाडीहरू : तिर्थराज दास (१५ लाख), अभिषेक तिवारी (५ लाख), विशाल पटेल (५ लाख), अमरसिंह रौटेला (५ लाख), रित गौतम (४ लाख २५ हजार), सन्तोष कार्की (३ लाख), आशुतोष पाण्डे (२ लाख), विशाल सुस्लिङ (२ लाख) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *