सर्लाही, २५ असार । सर्लाहीको लालबन्दीमा गएराति मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्दै अज्ञात व्यक्तिले गोली चलाएका छन् ।

लालबन्दी नगरपालिका-७ र ९ को सीमास्थित आइडिएल स्कुल नजिक एकान्त स्थानमा लालबन्दी नगरपालिका-९ बस्तीपुर निवासी तथा लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका हरिप्रसाद सापकोटामाथि लुटपाटको प्रयास भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार सापकोटा बजारस्थित पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्किरहेका बेला मोटरसाइकलमै आएका अपरिचित व्यक्तिहरूले उनीमाथि लुटपाटको प्रयास गरेका थिए ।

लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट पड्किसकेको दुई थान गोलीको खोका बरामद गरिएको डीएसपी गौतमले जानकारी दिए ।

घटनामा व्यवसायी सापकोटा र उनीसँग रहेका साथी दुवै सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताएका छन् ।

गोली चलेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मलंगवाबाट समेत डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न व्यक्तिको खोजीमा प्रहरीले रातभर सर्च अपरेसन सञ्चालन गरे पनि हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *