काठमाडौं, २६ असार । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया वरपरका क्षेत्रमा सैन्य आक्रमणलाई तीव्र बनाएको छ । क्रिमियालाई रुससँग जोड्ने स्थलमार्गमा आक्रमण गरेपछि युक्रेनले अब समुद्री आपूर्ति मार्गलाई पनि निशाना बनाउन थालेको जनाएको छ ।
युक्रेनको ड्रोन फोर्सका कमान्डर रोबर्ट ब्रोभदीका अनुसार पछिल्ला चार दिनमा आजोभ सागरमा कम्तीमा २५ वटा जहाजलाई निशाना बनाइएको छ, जसका कारण ती जहाजमा आगलागी भएको छ । आजोभ सागर केर्च जलडमरूमध्यमार्फत ‘ब्ल्याक सी’सँग जोडिएको छ ।
छोटो अवधिमै भएका यी आक्रमणलाई रुसको नौसैनिक क्षमतामाथिको ठूलो धक्का मानिएको छ । साथै, यसले राष्ट्रपति भ्लादिमिर पुटिनले इन्धन आपूर्ति निरन्तर कायम रहेको भनेर गरेको दाबीमा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ ।
यी आक्रमणलाई युक्रेनले सञ्चालन गरिरहेको ‘लजिस्टिक्स लकडाउन’ अभियानको नयाँ चरणका रूपमा हेरिएको छ । उक्त अभियानको उद्देश्य रुसको कब्जामा रहेको क्रिमियासँग जोडिएका आपूर्ति तथा यातायात मार्ग अवरुद्ध गर्नु रहेको जनाइएको छ ।
युक्रेनी सेनाले हालसम्म ३६ वटा जहाजलाई निशाना बनाएको दाबी गरेको छ । तीमध्ये अधिकांश रुसको तथाकथित ‘स्याडो फ्लीट’अन्तर्गत पर्ने व्यावसायिक तेल ट्यांकर रहेको उल्लेख गरिएको छ ।
यद्यपि, आक्रमणमा परेका जहाजहरूको वास्तविक संख्या भने स्पष्ट हुन सकेको छैन । केही जहाजमाथि एकभन्दा बढी पटक आक्रमण भएको हुन सक्ने र सबै घटनाको स्वतन्त्र रूपमा पुष्टि भइनसकेकाले दाबी गरिएका तथ्यहरू पूर्ण रूपमा प्रमाणीकरण हुन बाँकी रहेको जनाइएको छ ।
