सर्लाही, २९ साउन । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा विगतका सबै वर्षको तुलनामा सर्वाधिक आन्तरिक राजस्व संकलन गरेको छ ।
प्रदेश सरकारले यस वर्ष ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । विगत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि भएको उनको भनाइ छ । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधिमा आएको वृद्धिका कारण यस्तो उपलब्धि सम्भव भएको हो ।
विगत सात वर्षको तथ्यांक हेर्दा यो वर्षको संकलन ७ वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी छ। आव ०७५/७६ मा २ अर्ब ६६ करोड १५ लाख ३६ हजार, ०७६/७७ मा २ अर्ब ७५ करोड ७२ लाख ४१ हजार, ०७७/७८ मा १ अर्ब ९५ करोड ४८ लाख ५१ हजार संकलन भएको थियो । त्यस्तै, आव ०७८/७९ मा २ अर्ब ८८ करोड ६ लाख ३२ हजार, ०७९/८० मा ३ अर्ब ९० करोड २५ लाख २८ हजार र आव २०८०/८१ मा ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन भएको थियो।
यस वर्षको संकलन प्रदेशको आन्तरिक आम्दानीको क्षेत्रमा अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ।