सर्लाही, २७ असार । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डल शुक्रबार दिउँसो पौने ४ बजे आत्मदाहको प्रयास गरेका थिए ।
शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैताका युवकको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डल शुक्रबार दिउँसो पौने ४ बजे आत्मदाहको प्रयास गरेका थिए ।
उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत् उपचारका लागि कीर्तिपुर, काठमाडौँ लगिएकाे हो ।
‘केहीबेरअघि हामीले अस्पतालमा बुझेका थियौँ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले भने, ‘आईसीयूमा राखेर उहाँको उपचार भइरहेको छ । अवस्था गम्भीर छ।’
विज्ञान विषयमा मास्टर्स (एमएस्सी) गरेका मण्डलको मानसिक अवस्था ठिक नभएको जानकारी परिवारका सदस्यले गराएका गौतमले बताए ।
उनलाई सुरुमा प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरिएको थियो । मलंगवामा उपचार सम्भव नभएपछि शुक्रबार साँझ थप उपचारका लागि काठमाडौँ लगिएकाे हो ।
उनको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाका अनुसार एमएस्सी गरेका विवेक एक वर्षदेखि बेरोजगार थिए । आर्थिक अभावले केही समयदेखि उनी मानसिक समस्यामासमेत थिए ।
एमएस्सीको पढाई पूरा गरेपछि उनले केही सयम मलंगवास्थित एक कलेजमासमेत पढाएका थिए । एक वर्षअघि नै कलेजबाट उनको जागिर छुटेको थियो ।
त्यसयता उनी बेरोजगार रहेको परिवारका सदस्यले बताएका छन् । आर्थिक अभावले उनमा मानसिक समस्या सुरु भएको वडाध्यक्ष वैद्यनाथ मण्डलले बताए ।
