काठमाडौँ, २७ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन् ।

रोयटर्ससँगको अन्तर्वार्तामा उनले आफूसँगै अवामी लिगका धेरै जना वरिष्ठ नेताले आत्मसमर्पण गर्ने बताएकी छन् ।

‘म फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, मार्न पनि सक्छन्’, ७८ वर्षीया हसिनाले रोयटर्ससँग बिहीबार र शुक्रबार लगभग एक घण्टा भएको टेलिफोन अन्तर्वार्तामा भनिन्, ‘तैपनि म जानुपर्छ, मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि धेरै दबाब दिइँदै छ ।

मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु, जहाँ मेरा आमाबाबुलाई गाडिएको छ, जहाँ उहाँहरूको रगत बगेको छ ।’

यद्यपि हसिनाले आफ्नो फिर्ताको मिति तोकेकी छैनन् ।

बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन् ।

विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले दमन गर्दा १४ सय जनाको मृत्यु भएको थियो । जसमा तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै त्यहाँको अदालतले मृत्युदण्ड सजाय सुनाएको छ । 

हसिना भारतमा लुकेर बसेकी छन् भने बंगलादेशले फिर्ता पठाइदिन पटकपटक अनुरोध गरे पनि भारत सरकारले बेवास्ता गरिरहेको छ ।

हसिना लखेटिएपछि बंगलादेशमा पहिलोपटक गत फेब्रुअरीमा १२ मा भएको आम निर्वाचनबाट नयाँ सरकार बनिसकेको छ ।

निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेर जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन् । जुन चुनावमा प्रतिबन्ध लगाइएका कारण हसिनाको पार्टी अवामी लिगले भाग लिन पाएन । 

१७ वर्ष बेलायतमा निर्वासनपछि रहमान २०२५ डिसेम्बर २५ मा स्वदेश फर्किएका थिए। त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि उनी पार्टी प्रमुख बनेका थिए ।

तर भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भने आफ्नो देशमा भएको त्यस संसदीय निर्वाचनलाई ‘पूर्वनियोजित छल र प्रहसन’ भनी टिप्पणी गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *