सर्लाही, २८ असार । भारतीय मिडिया ‘फर्स्टपोस्ट’ मा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको विषयमा समाचार प्रकाशन भएको छ । ‘फर्स्टपोस्ट’ले शनिबार आफ्नो पेजमा प्रधानमन्त्री शाहको भारत भ्रमण चाँडै हुने विवरणसहित समाचार लेखेको छ ।
‘स्रोतहरूका अनुसार नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निकट भविष्यमा भारत भ्रमणमा आउने अपेक्षा गरिएको छ । भ्रमणका विवरणहरू तय गर्न दुवै देशबीच छलफल भइरहेको छ’, फर्स्टपोस्टको समाचारमा उल्लेख छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई नयाँ दिल्ली भ्रमणका लागि निमन्त्रणा दिएका छन्, र शाहले उक्त निमन्त्रणा स्वीकार गरेका छन् ।’
भ्रमणको मिति तय नभएको समाचारमा उल्लेख छ । यद्यपि, भ्रमणको औपचारिक कार्यसूचीका बारेमा छलफल जारी रहेको जनाइएको छ ।
नेपालमा भने प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा कुनै जानकारी वा चर्चा भएको छैन ।
