काठमाडौं, ३१ असार । अमेरिका र इरानको लफडा आणविक ऊर्जाबारेमा हुन्थ्यो । आजकाल स्ट्रेट अफ होर्मुजबारेमा हुन्छ । आणविक ऊर्जा वा हतियारभन्दा होर्मुज नै धेरै चासोमा आएको छ ।

अमेरिकालाई मात्रै होइन, स्वयम् इरानलाई पनि होर्मुज महत्त्वपूर्ण हुन थालेको छ । फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार यसबारेमा हालसालै इरानका सर्वोच्च नेताका सल्लाहकार मोसेन रेजीले सार्वजनिक रूपमै स्वीकार गरिसकेका छन् ।

उनले भनेका छन्, ‘रणनीतिक मार्ग दर्जनौँ आणविक बमभन्दा महत्त्वपूर्ण छ र यसलाई इस्लामिक गणतन्त्र इरानले रक्षा गर्नेछ ।’

पाँच महिनाअगाडिबाट बढेको होर्मुजको महत्त्व 

सैन्य रणनीतिकार तथा अर्थशास्त्रीहरूले इरानमाथि अमेरिकाले हमला गर्नेमा के–के होला भन्ने बहस हुँदा धेरैले जोड्ने नाम हुन्थ्यो होर्मुज नियन्त्रण ।

पर्सियन खाडी क्षेत्रमा उत्पादन भएको तेल तथा अन्य आयात/निर्यात गर्ने प्रमुख सामुद्रिक मार्ग यही होर्मुज भएकाले इरानले युद्धको अवस्थामा त्यो नियन्त्रण गर्न सक्ने बताइन्थ्यो । यो अनुमान आखिरीमा सत्य सावित भयो ।

पाँच महिनाअगाडिसम्म स्वतन्त्र रूपमा तेल ट्यांकर आउजाउमा कुनै रोकतोक थिएन । जब अमेरिकाले इराममा २८ फेब्रुअरीमा सर्वोच्च नेताको हत्या गर्‍यो, तब बिच्कियो इरान ।

अनि लामो समयबाट सैन्य रणनीतिकार तथा अर्थशास्त्रीले तर्क गरेजस्तै उसले होर्मुजमा नाकाबन्दी लगायो ।

होर्मुजमा इरानले नाकाबन्दी लगाएसँगै त्यो मामिला इरान र अमेरिकाको मात्रै रहेन, विश्वमामिला बन्यो । र, अहिले अमेरिका इरानको तनाव आणविक कार्यक्रम जोगाउने कि सक्नेभन्दा पनि होर्मुजको साविक अवस्थामा ल्याउन के गर्ने भन्नेमा छ ।

अहिले पनि अमेरिका र इरानले होर्मुजमा हानाहान गरिरहेका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार सोमबार मात्रै इरानलाई होर्मुज क्षेत्रमा अमेरिकाले आक्रमण गर्‍यो भने इरानले पनि होर्मुजमा आएका संयुक्त अरब इमिरेट्सका तेल ट्यांकरमा हमला गरिहाल्यो । एकैपटक पाँच देशमा इरानले हमला गर्‍यो ।

संयुक्त अरब इमिरेट्समा अमेरिकी सैनिक छन् भने उसले इजरायलसँग पनि निकटता देखाइरहेको सार्वजनिक भएको छ । यसबाट इरान क्रुद्ध छ । गत मार्च महिनाबाट त संयुक्त अरब इमिरेट्सले इरानको राजधानी तेहरानमा भएको आफ्नो दूतावास पनि बन्द गरिदियो । 

किन होर्मुज नियन्त्रण महत्त्वपूर्ण छ ? 

होर्मुज एक सानो जलघाँटी हो । यसको लम्बाइ १६७ किलोमिटर छ तर चौडाइ सबैभन्दा साँघुरोमा ३३ किलोमिटर भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

होर्मुजको उत्तरमा इरान छ भने दक्षिणमा ओमान र संयुक्त अरब इमिरेट्स छन् । तर, सैन्य तथा भूउपस्थितिमा इरानको हिस्सा ठूलो र प्रभावकारी छ । त्यसैको फाइदा इरानले उठाइरहेको छ ।

होर्मुजले पर्सियन खाडी क्षेत्रलाई हिन्द महासागरसँग जोड्छ । पर्सियन खाडीको जलमार्गको आवतजावतको प्रमुख द्वार हो होर्मुज । त्यही कारण होर्मुजले विश्वमा अर्थ राख्छ ।

होर्मुजलाई इरानले बन्द गर्नुको प्रभाव अमेरिका–इरान सम्बन्धमा मात्रै परेन, यसको असर नेपालीको भातभान्सामा पनि पर्‍यो ।

आकाशिएको तेलको मूल्य र अन्य महँगीमा होर्मुज सकसको योगदान छ । होर्मुज केही समय सहज हुँदा फेरि तेलको मूल्य घटेको थियो । बीबीसीका अनुसार गत वर्ष अर्थात् सन् २०२५ मा यो मार्ग भएर २ करोड ब्यारेल तेल निर्यात भएको थियो ।

त्यो भनेको ६ खर्ब अमेरिकी डलरबराबरको कारोबार हो । विश्वको तेल निर्यातको २० प्रतिशत हिस्सा यो भागबाट हुन्छ ।

खासगरी एसिया क्षेत्रको मुख्य आयात हब नै होर्मुज हो । सोमबारको सकसले मंगलबार पछिल्ला चार हप्तामा सबैभन्दा धेरै मूल्य पुग्यो तेलको । त्यस कारण होर्मुजको महत्त्व छ । 

होर्मुज वारपार गरेको शुल्क लिने लाइनमा इरान र ओमान 

ओमानी अधिकारीहरू होर्मुजको आउजाउबाट शुल्क लिने पक्षमा थिएनन् । तर, इरानले शुल्क लिनुपर्छ भनेपछि उनीहरू पनि लचक भएका छन् । इरानले बाध्यकारी हुनुपर्छ भनिरहेको छ भने अमेरिकासँग नजिक ओमानी अधिकारीहरूले भने बाध्यात्मक नभएर स्वयंसेवी रूपमा शुल्क लिने कुरा गरेका छन् ।

उनीहरूले स्ट्रेट अफ मलाक्कामा लिइनेजस्तो शुल्कको कुरा गरेका छन् । युद्धअगाडि होर्मुजमा तेल ट्यांकर आउजाउ गर्दा पैसा लाग्ने कुरा अकल्पनीय थियो । तर, युद्धमा भएको क्षति र अमेरिका तथा इजरायलको सामूहिक आक्रमणपछि इरानले शुल्क लिने अड्डी लिएको छ, जसमा अप्रत्यक्ष रूपमा ओमानको साथ देखिन्छ ।

संयुक्त अरब इमिरेट्स भने इरानको मुद्दाको विपक्षमा छ । हुन त समुद्रमा आउजाउ स्वतन्त्र र नि:शुल्क हुनुपर्ने सन्धि संयुक्त राष्ट्रसंघको थियो । तर, त्यसको हस्ताक्षरकर्ता देश इरान नभएकाले उसलाई सन्धिको सकस छैन ।

अहिले विश्व मिडियामा आएका रिपोर्टअनुसार इरानले प्रतिट्यांकर १५ देखि २० लाख अमेरिकी डलर शुल्कको प्रस्ताव गरेको छ भने केहीबाट शुल्क लिएर अभ्यास पनि गरिसकेको छ ।

इरानलाई काउन्टर दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि शुल्क लिने लाइनमा लागेका छन् । उनले हालसालै २० प्रतिशत शुल्क लिने भनेका छन् । यो भनेको प्रतिट्यांकर ३० लाखभन्दा माथि हुने बताइएको छ ।

हुन त अमेरिकाको नियन्त्रणमा छैन होर्मुज । र, अमेरिकाले लिन सक्ने अवस्था छैन । यद्यपि, ‘आर्ट अफ डिल’ नामक पुस्तक सन् १९८७ मा एक पत्रकारसँग मिलेर लेखेका ट्रम्पको त्यो डिलको पोजिसन मात्रै पनि हुन सक्छ । त्यही भएर हुनुपर्छ, इरानी विदेशमन्त्री अब्बास अरागचीले खिल्ली उडाएका छन् ।

उनले सामाजिक सञ्जालमा हालसालै लेखेका छन्, ‘अमेरेकी राष्ट्रपति वास्तवमै सही छन् । स्ट्रेट अफ होर्मुजमा जसले सुरक्षित बाटोको सुविधा दिन्छ, उसलाई आर्थिक क्षतिपूर्ति दिनुपर्छ । इरान नै हो स्ट्रेट अफ होर्मुजको संरक्षक र इरान नै रहन्छ । २० प्रतिशत अवश्य पनि ठूलो रकम हो । हामी सुपथ मूल्य लिन्छौँ ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *