सर्लाही, १४ भदाै । रसुवाको भोटेकोशी बाढीपीडितका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा सामाजिक सञ्जालमार्फत ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार कार्कीले भदौ १० गतेको भोटेकोशी बाढीपीडितका लागि आफैँले उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै एआई प्रविधि ‘ChatGPT’ को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट तयार पारेका थिए ।
त्यसपछि उक्त नक्कली भौचरसँगै आफ्नो व्यक्तिगत क्युआर (QR) कोड सामाजिक सञ्जालमा पोस्ट गरी सर्वसाधारणबाट पैसा संकलन गरेर ठगी गर्ने प्रयास गरेका थिए ।
विपद्को यस्तो संवेदनशील समयमा भ्रम फैलाएर आर्थिक लाभ उठाउन खोज्ने कार्कीमाथि प्रहरीले मुलुकी अपराध संहिता बमोजिम थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारीले जनाएका छन् ।
