सर्लाही, ५ साउन । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बैठक बस्ने भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको समितिले जनाएको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो ।
सोही बैठकले निर्वाचन आयुक्त पदमा डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।
