सर्लाही, ५ साउन । सरकारले वर्षौंदेखिको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको करिब २७ लाखको ब्याकलग अन्त्य गरेको भए पनि आधाभन्दा बढी लाइसेन्स अझै यातायात कार्यालयमै थन्किएका छन् ।
यातायात व्यवस्था विभागका अनुसार छापिएका लाइसेन्समध्ये करिब १३ लाख ५० हजार मात्र सेवाग्राहीले बुझेका छन् भने बाँकी साढे १३ लाख वितरण हुन बाँकी छ ।
विभागले नागरिक एपमार्फत डिजिटल लाइसेन्स प्रयोग गर्न सकिने व्यवस्था, ट्राफिक प्रहरीले एपमै विवरण प्रमाणीकरण गर्न सक्ने सुविधा तथा लामो समयसम्म कार्ड नपाउने अवस्थाका कारण सेवाग्राहीले भौतिक कार्ड लिन कम चासो देखाएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब विभागबाट विवरण प्राप्त भएको २४ घन्टाभित्र स्मार्ट लाइसेन्स छापेर उपलब्ध गराउने व्यवस्था लागू भएको छ ।
सुरक्षण मुद्रण केन्द्रले हाल दैनिक तीन हजारदेखि पाँच हजारसम्म स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिरहेको मन्त्रालयले जनाएको छ ।
