सर्लाही, ५ साउन । धनुषाको मिथिला नगरपालिका–७ स्थित जनकपुर रिफाइनरीले स्थानीय व्यापारीसँग खरिद गरेको कच्चा पदार्थको लाखौँ रुपैयाँ भुक्तानी नदिएको पाइएको छ ।
कम्पनीले करिब एक वर्षको अवधिमा लाखौँको कारोबार गरे पनि आपूर्तिकर्तालाई भुक्तानी नगरी उल्टै कम्पनीभित्र प्रवेश गर्नसमेत रोक लगाएको आरोप पीडित पक्षको छ।
रिफाइनरीका सञ्चालक विनित अग्रवाल र पत्नी रइसा अग्रवालले व्यवसायीलाई धम्काएको स्थानीय व्यापारी रामजीवन प्रसाद गुप्ताले बताए ।
क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित रोशन भूसा खरिद बिक्री केन्द्रका सञ्चालक गुप्ताले २०८२ साउनदेखि २०८३ असारसम्म जनकपुर रिफाइनरी कम्पनीलाई निरन्तर भूसा आपूर्ति गरे।
तर कारोबार सकिएपछि करिब ५० लाख रुपैयाँ भुक्तानी नगरी जनकपुर रिफाइनरीका सञ्चालकहरुले आलटाल गरी बक्यौता रकम नदिएको बताए ।
धनुषा मिथिला नगरपालिका ढल्केबरमा सञ्चालित जनकपुर रिफाइनरी कम्पनीले ‘सम्पूर्ण’ ब्राण्डको खानेतेल उत्पादन गर्छ । तेलको लागि आवश्यक कच्चा पदार्थमध्ये ‘पराल’ को भुस पनि हो ।
कम्पनीलाई कच्चा पदार्थका रुपमा चाँहिने ‘भुसा’ गुप्ताले सञ्चालन गरेको रोशन भुस खरिद बिक्री केन्द्रबाटै हुने गरेको छ। ।
व्यापारी गुप्ताका अनुसार कम्पनीका सञ्चालक विनित अग्रवालकै आग्रहमा उनले स्थानीय किसानबाट भुसासंकलन गरी उद्योगमा आपूर्ति गरेका थिए। सुरुका केही महिनासम्म कारोबार सामान्य रूपमा चल्यो। कम्पनीले रकम पनि समयमै भुक्तानी गरिरहेको थियो। तर कारोबार बढ्दै जाँदा भुक्तानी रोकिँदै गयो।
‘पहिला पार्टनरबीच समस्या परेको छ, केही दिन पर्खिनुस् भनियो। त्यसपछि चेक तयार हुँदैछ भनियो। फेरि अर्को बहाना आयो,’ गुप्ताले भने, ‘विश्वास गरेर माल दिइरहेँ। पछि रकम माग्न जाँदा भेट्नै छाडे। अन्त्यमा कम्पनीभित्र पस्नसमेत रोक लगाइयो।’
उनका अनुसार किसानबाट नगदमा भुसा खरिद गरेर उद्योगमा आपूर्ति गरिएको थियो । उद्योगबाट रकम नआएपछि किसानलाई भुक्तानी गर्नसमेत समस्या परेको छ।
‘मेरो पैसा रोकिँदा किसानको पनि रोकिएको छ। उनीहरूले पनि दिनहुँ पैसा मागिरहेका छन्। उद्योगले पैसा नदिँदा सबैभन्दा ठूलो मार हामीलाई परेको छ,’ उनले भने।
गुप्ताले सञ्चालक विनित अग्रवाल र उनकी पत्नी रइसाले रकम माग्न जाँदा आफूलाई धम्क्याएको आरोपसमेत लगाए।
कम्पनीकै लेजरले देखायो बाँकी रकम
नेपाल प्रेसलाई प्राप्त कम्पनीको आन्तरिक सप्लायर लेजरअनुसार रोशन भुसा खरिद बिक्री केन्द्र नाममा आर्थिक वर्ष २०२५ देखि २०२६ सम्म कारोबार भएको देखिन्छ ।
यो अवधिमा जनकपुर रिफाइनरी र रोशन भुसा केन्द्रबीच भएको कारोबारमध्ये ४९ लाख ४९ हजार ८ सय ८३ रुपैयाँ ५० पैसा बक्यौता रहेको छ । कम्पनीले तयार गरेको लेजरमै अन्तिममा रकम दिन बाँकी उल्लेख छ । लेजरमा १७ जुलाई २०२५ देखि १६ जुलाई २०२६ सम्म भुसा खरिद, भुक्तानी र बाँकी रकमको विस्तृत विवरण उल्लेख छ।



उजुरी परेपछि पनि सुनुवाइ भएन
पटकपटको व्यापारी नेता र स्थानीय भद्रभलादमीको उपस्थितिमा पैसा निकाल्न प्रयास गरिए पनि सफल नभएको हो । रकम नपाएपछि गुप्ताले पहिलो चरणमा मिथिला नगरपालिकामा २०८२ चैत १६ गते निवेदन दिए। त्यहाँबाट समस्या समाधान नभएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाखमा लिखित उजुरी दर्ता गराए।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (एसएसपी) रुपेश खड्काले यो विषय इलाका प्रहरी कार्यालय ढल्केबरको परेको हुन्नाले उजुरी उतै पठाइएको हुनसक्ने बताए । उनले थप जानकारी नरहेको नेपाल प्रेसलाई बताए ।
इलाका प्रहरी कार्यालय ढल्केबरले समेत सकारात्मक रुपमा कारबाही अघि बढाएको पाइएको छैन ।
प्रहरीले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई उपस्थित गराउन पत्राचारसमेत गरेको कागजात नेपाल प्रेससँग सुरक्षित छ। तर उजुरी परेको महिनौँ बितिसक्दा पनि विवाद समाधान हुनसकेको छैन। पीडित पक्षले स्थानीय प्रशासन र प्रहरीको सुस्तताका कारण आफू थप आर्थिक संकटमा परेको बताए ।

किस्ताबन्दीको सहमति पनि उल्लंघन
कम्पनीले बाँकी रकम किस्ताबन्दीमा तिर्ने तालिका तयार गरेको थियो । तालिकामा पाँच किस्तामा रकम भुक्तानी गर्ने उल्लेख भए पनि त्यसअनुसार रकम भुक्तानी नभएको पीडित गुप्ताको दाबी छ। व्यापारी गुप्ताले पटकपटक रकम तालिका निर्माण भए पनि कम्पनी स्वयम्ले नै तालिकाको सहमति उल्लंघन गरेको बताए ।
जनकपुर रिफाइनरी कम्पनीका सञ्चालक विनित अग्रवालसँग पटक–पटक सम्पर्कको प्रयास भयो । तर सम्पर्क हुन सकेन। त्यसपछि कम्पनीसँग आबद्ध विनितकी पत्नी रइसा अग्रवाललाई सम्पर्क गर्दा सञ्चारकर्मी भएको परिचय दिएलगत्तै फोन काटिएको थियो। त्यसपछि गरिएका थप फोन कलको समेत कुनै जवाफ आएन।

