सर्लाही, ५ साउन । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र वर्षाका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । सडक अवरोधका कारण यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ भने केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल प्रहरीले जारी गरेको बुलेटिनअनुसार ललितपुरको बागमती गाउँपालिका– ३ टाकुचेमा गएको पहिरोका कारण कान्तिलोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडकमा मंगलबार बिहान ५:५५ बजेदेखि यातायात रोकिएको छ ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका– ५ बोखिममा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । सो क्षेत्रमा अर्को वैकल्पिक बाटोसमेत उपलब्ध रहेको जनाइएको छ ।
इलाम नगरपालिका– ९ राजदुवालीमा लगातारको वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । झापादेखि ताप्लेजुङ जोड्ने उक्त सडकमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने बताइएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ माम्खामा गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा पनि विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारी सञ्चालनमा समयगत रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी सवारी सञ्चालन गरिने र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना नभएसम्म रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ कोदारी क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही क्षेत्रको अर्को खण्डमा पनि सडक सञ्चालन प्रभावित रहेको छ ।
मकवानपुरमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । हेटौंडा–ठिँगन–बागमती–ललितपुर सडकखण्डमा अर्को सूचना नभएसम्म राति सवारी आवागमन बन्द गरिएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ६ बोकेझुन्डामा पहिरो गएपनि पासाङ ल्हामु सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।
गण्डकी प्रदेशको बागलुङस्थित जैमिनी नगरपालिका– ८ बेलबगरमा गएको पहिरोका कारण कालीगण्डकी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको दार्चुलामा शैल्यशिखर नगरपालिका– ६ पनेबाँज र मालिकार्जुन गाउँपालिका– ८ ऐरीछिनामा गएको पहिरोका कारण महाकाली राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
