काठमाडौँ, ५ साउन । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली सुधार गर्न लेटरग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ ।
सबै परीक्षाको मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन शिक्षा मन्त्रालयले निर्देशिका ल्याएको हो । परीक्षालाई लिएर विद्यार्थीमा सिर्जना हुने मनोवैज्ञानिक त्रास अन्त्य गर्ने गरी मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन निर्देशिका बनाइएको मन्त्रालयले जनाएको छ ।
हाल कक्षा ९ सम्म विद्यालयले आफूखुशी ग्रेडिङ गर्दै आएका थिए । कक्षा १० र १२ मा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली कार्यान्वयन गरेको छ । नयाँ निर्देशिकाअनुसार अब सबै तहमा एकै खालको ग्रेडिङ प्रणाली लागू गरिनेछ ।
कक्षामा ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीमात्र परीक्षामा सहभागी पाउने व्यवस्था गरिएको छ । निर्देशिकाले विद्यार्थीको मूल्यांकन ३५ अंकदेखि सयसम्म गरी आठ वर्गमा विभाजन गरेको छ ।
निर्देशिकामा कक्षा ५ सम्म परीक्षाका माध्यमबाट मूल्यांकन गर्ने व्यवस्था हटाइएको छ ।
यस्तै, विद्यालय तहमा ६० मिनेटको एक घण्टी हुने व्यवस्था गरिएको छ । विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नेसक्ने र अतिरिक्त समयमा भएका सिकाइसम्बन्धी क्रियाकलापलाई समेत वार्षिक कार्यघण्टामा गणना गर्न सक्ने गरी निर्देशिका ल्याइएको छ ।
