सर्लाही, ७ साउन । सर्लाहीको बलरा–५ का सुरेशप्रसाद सिंह असार १७ गते बिहानै खेतमा हाल्ने मल किन्न सीमा पारी सोनबरसा पुगे । उनका दाजु नागेन्द्रप्रसाद सिंह पनि सँगै गएका थिए ।
बिहान साढे नौ बजेतिर सुरेशप्रसादकी श्रीमती रेणु सिंहको मोबाइलको घण्टी बज्यो । सुरेशप्रसादले दाजुको मोबाइलबाट फोन गरेका रहेछन् ।
सुरेशप्रसादले श्रीमतीलाई आफूहरू पक्राउ परेको खबर दिनसम्म भ्याए । त्यसपछि रेणु सिंह आफन्त लिएर सीमा पारियो पुगेर अनुनय-विनय गरिन् । तर भारतीय प्रहरीले दुबै जनालाई छोड्न मानेन ।
माना रोपेर मुरी उब्जाउने बेलामा मल खोज्दै गएका सिंह दाजुभाइ भारतीय जेलमा थुनिएको २२ दिन भइसकेको छ ।
सीमावर्ती जिल्ला सितामढीको सोनबरसा बोर्डरमा दुई बोरा युरिया र ६ बोरा डिएपी मलसहित पक्राउ परेको भारतीय सशस्त्र सीमा बलको दाबी छ । सुरेशप्रसादका छोरा अविनाश सिंहले भने दुई जनाको साथमा जम्मा दुई वटा बोरा रहेको बताए ।
आफ्नो बुबा र ठूलो बुबाको अवस्था बुझेर मंगलबार भारतबाट फर्केका अविनाशले भने, ‘युरियाको ४६ केजीको एउटा र डिएपीको ४६ केजीकै एउटा बोरा लिएर फर्कने बेलामा पक्राउ पर्नु भएको रहेछ ।’
पक्राउ परेको भोलिपल्टै असार १८ गते दुवै जनालाई जेल चलान गरेको जानकारी पाएको बलरा-५ का वडाध्यक्ष मनोजमोहन सिंह बताउँछन् । उनी भन्छन्, ‘उहाँहरू दुबै जना विशुद्ध किसान हुनुहुन्छ । आफ्नो खेतमा प्रयोग गर्नका लागि मल लिन जानु भएको रहेछ ।’
सोनबर्षा पुगेर प्रहरी प्रशासनसँग छलफल गर्दा अदालत पुगिसकेको विषय भएकाले आफूहरूले केही नसक्ने जवाफ पाएको अविनाशले बताए । त्यसपछि उनी भारतीय वकिल गुहार्न बाध्य भए ।
प्रक्रिया लम्बिँदै जाँदा वकिल खर्च बढ्दै गएको उनको गुनासो छ । ‘दुई बोरा मल किन्न जानु भएको थियो । वकिलले दुई लाख भारतीय रुपैयाँ फि माग्दो रहेछ,’ उनी भन्छन् ।
किसानहरूले समयमा मल नपाउने विषय नौलो रहेन । सहुलियत दरमा मल पाउने कुरा त झन् अपवाद जस्तो बनिसकेको छ ।भारतीय बजारमा पुग्दा पनि सस्तो दरमा पाउने भने होइन । आधारकार्ड हुने भारतीय नागरिकको तुलनामा नेपाली महंगो मुल्य तिर्नु परेको सीमावर्ती क्षेत्रका किसानहरूको अनुभव छ ।
‘भारतमा मलको सरकारी दर सस्तो छ तर त्यो उनीहरूका नागरिकका लागि मात्र हो,’ अविनाश भन्छन्, ‘हामीले किन्दा नेपालमा भन्दा पनि महँगो पर्छ । नभई नहुने भएर बाध्यताले मात्र सीमा पारी पुग्ने हो ।’
सिंह दाजुभाइको रिहाईका लागि भारतीय दूतावासमार्फत पहल भइरहेको संघीय सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री यो विषयमा भारतीय पक्षसँग निरन्तर संवादमा रहेको बताउँछन् । उनी भन्छन्, ‘उहाँहरूको विषयमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत् समन्वय गरिरहेका छौं ।’
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सिंह दाजुभाइ केही दिनमै छुट्ने जानकारी पाएको बताउँछन् । प्रहरीले जिल्ला स्तरबाट समन्वय गरेको घिमिरेको भनाइ छ ।
