सर्लाही, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको विशेष पहलपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
प्रश्नपत्र बाहिरिएको समाचार आएपछि मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो । त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले विहान नियन्त्रणमा लिइएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमालिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
उक्त घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत कायममा रातभरजसो खटिएका थिए ।
पक्राउ गरिएका व्यक्तिलाई एमबिएसको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको खुलेको छ । ‘एमबिएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरू भएको ५ मिनेटमै पठाइएको खुलेको प्रहरीले जनाएको छ ।
८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो ।
केही मिनेटमै सामाजिक सञ्जालमार्फत बाहिरिएको भन्दै फेसबुक पेज ‘टियु स्टुडेन्ट्स’ले त्रिविको ध्यानाकर्षण गराएको थिये । उक्त पेजले त्यही ह्वाट्सएप ग्रुपका स्क्रिनसटकहरू समेत सार्वजनिक गरेको थियो ।
प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।
परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि छानबिन समितिसमेत गठन गरेको छ ।
प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने परीक्षा संचालक समितिले निर्णय गरेको हो ।
अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझालाई सदस्यको तोकिएको छ ।
उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
