सर्लाही, १२ साउन । सर्लाही प्रहरीले सीमावर्ती क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको ६ सयभन्दा बढी कार्टुन अवैध मदिरासहित दुई वटा पिकअप नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार सोमबार बिहान प्राप्त गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।

बलरा नगरपालिका-३ लक्ष्मीपुरस्थित स्थानीय ज्ञानेन्द्र झाको भुसको गोठमा छापा मार्दा प्रदेश २-०३-००१ ख ५१३५ नम्बरको पिकअपबाट मदिरा अनलोड गरिरहेको अवस्थामा प्रहरीले मदिरा, पिकअप र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

उक्त घटनामा धनकौल गाउँपालिका–१ निवासी ३१ वर्षीय राजकुमार महतो (पिकअप चालक) र बलरा नगरपालिका-३ लक्ष्मीपुर निवासी ३७ वर्षीय ज्ञानेन्द्र झा (मदिराका मालिक) पक्राउ परेका छन् ।

प्रहरीले उक्त पिकअपबाट करिस्मा सौफी रक्सी २५० कार्टुन, गौरव सौफी रक्सी ४७ कार्टुन, ब्ल्याक एसी ४ कार्टुन १३ बोतल, बियर ४ कार्टुन र मैरिगोल्ड १ कार्टुन बरामद गरेको जनाएको छ ।

बरामद मदिराको अनुमानित मूल्य २ लाख १५ हजार ७५० रुपैयाँ तथा पिकअपको मूल्य करिब १० लाख रुपैयाँ गरी कुल १२ लाख १५ हजार ७५० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ ।

यसैबीच, सशस्त्र प्रहरी बल सर्लाहीले पनि सोही दिन बलरा नगरपालिका–१ स्थित सेढवा गाउँबाट प्रदेश २-०३-००१ च ५६६८ नम्बरको अर्को पिकअप नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरीका प्रमुख एसपी अमरबहादुर खत्रीका अनुसार बिहान करिब ११ बजे विशेष निगरानीका क्रममा उक्त पिकअपबाट २५० कार्टुन सौफी मदिरा बरामद गरिएको हो ।

यसअघि बिहान करिब ९ बजे बलरा नगरपालिका-३ लक्ष्मीपुर नाकाबाट प्रदेश २-०३-००१ ख ५१३५ नम्बरको अर्को पिकअप पनि नियन्त्रणमा लिइएको थियो । सशस्त्र प्रहरीका अनुसार उक्त गाडीमा ३६० कार्टुन सौफी मदिरा लोड गरिएको थियो ।

एसपी खत्रीले सीमावर्ती क्षेत्रमा अवैध तस्करी रोक्न विशेष निगरानी कडा पारिएको र भारततर्फ लैजान तयारी अवस्थामा रहेका दुवै गाडी नियन्त्रणमा लिइएको बताए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले दुवै पिकअप सीमा क्षेत्र नजिक पुगेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार एउटा मदिरा बोकेको पिकअप नेपाल प्रहरीले र अर्को सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइसकेको छ ।

प्रहरीका अनुसार दुवै घटनामा पक्राउ परेका चालक तथा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने बरामद मदिरा, सवारीसाधन र तस्करी सञ्जालबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *