सर्लाही, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटना तथा सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा भएको गोलीकाण्डको विरोधमा हिन्दु सम्राट सेना नेपालले बिहीबार साँझ सर्लाही सदरमुकाम मलंगवामा मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा शान्ति-सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका थिए ।

उनीहरूले विभिन्न नाराबाजी गर्दै मलंगवाको मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । हिन्दु सम्राट सेना नेपालले देवानगञ्ज र सिरहाको गोलबजारका घटनाको विरोधस्वरूप आज साउन १५ गते सर्लाही जिल्ला बन्दको घोषणा पनि गरेको छ ।

संगठनले बन्दलाई शान्तिपूर्ण रूपमा सफल बनाउन सम्पूर्ण जिल्लावासीसँग सहयोगको अपिल गरेको छ । साउन १० गते आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनामा गोलि लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

त्यसैगरी, बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मील चलाएको गोली लागेर औरही गाउँपालिका–२ का करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको छ ।

यी घटनापछि मधेश तथा पूर्वी तराईका विभिन्न जिल्लामा विरोध प्रदर्शन तीव्र बन्दै गएको छ । यसैबीच, देवानगञ्जमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै, सिरहाको गोलबजारमा भएको गोलीकाण्डको घटनाको वास्तविकता पत्ता लगाउन मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।

घटनाको कारण, सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकासहित समग्र पक्षको अध्ययन गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *