सर्लाही, १६ साउन । महोत्तरी जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयनलाई दृष्टिगत गर्दै छिमेकी मुलुकहरूबाट सीमा नाका भई नेपाल आउनेहरुलाई आधिकारिक पहिचान खुल्ने परिचयपत्र हेरेर मात्र प्रवेश गर्न दिन निर्णय गरिएको छ ।
सुनसरी जिल्लामा भएको दुःखद् घटनापछि मुलुकको विभिन्न स्थानमा विकसित भइरहेका संवेदनशील घटनाक्रमलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार बिहान जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, धार्मिक-सामाजिक सद्भाव सम्बन्धी समन्वय बैठकबाट सिमा प्रवेश गर्नेलाई परिचय पत्र देखाएर प्रवेश गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताएका छन् ।
परापूर्व कालदेखि रहिआएको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई अक्ष्ॉण्ण राख्दै संयमता अपनाउन र कुनै पनि किसिमका हिंसात्मक, द्वन्द्वमूलक वा उत्तेजक क्रियाकलापहरू हुन नदिन सम्पूर्ण जिल्लावासीहरूमा हार्दिक अपिल समेत गर्ने निर्णय भएको प्रजिअ यादवले बताए ।
साथै सामाजिक सञ्जालमा सद्भाव भड्काउने किसिमका अफवाह, भ्रामक, अपुष्ट र द्वेषपूर्ण सामग्रीहरू सम्प्रेषण नगर्नुको साथै त्यस्ता सामग्रीहरु शेयर नगर्न समेत आग्रह गर्ने र कहि कतै कसैले त्यस्ता कार्य गरेमा संलग्न जोकोहीलाई प्रचलित नेपाल कानून बमोजिम कडा कारवाही गर्ने निर्णय बैठकबाट गरिएको उनले बताए ।
जिल्लाभित्र रहेका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकहरूबीच असमझदारी वा द्वन्द्वलाई उत्तेजित नबनाई संयमता अपनाउँदै जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लास्थित सम्पूर्ण धार्मिक अगुवाहरुमा हार्दिक अपिल गर्ने र कुनै पनि धार्मिक जुलुस, ¥याली, सभा वा सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्दा अनिवार्य रूपमा स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिनुपर्ने र शान्ति–सुरक्षा खलल हुने कुनै क्रियाकलाप नगर्न नगराउन निर्णय समेत गरिएको उनले जनाएको छ ।
त्यसैगरि जिल्लाको समग्र शान्ति, सुव्यवस्था र अमनचयन कायम राख जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ संवेदनशील क्षेत्रहरूमा गस्ती बढाउने, शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।
यता सुनसरी घटनाको समर्थनमा महोत्तरीको सदरमुकाम जलेश्वर लगायत प्रमुख बजारहरु बन्द गराइएको छ । महोत्तरीको मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, औरही, पिपरा लगायतको बजार बन्द गर्नुका साथै सडकहरुमा टायर बाल्नुको साथै रुख ढालेर सडक समेत अवरुद्ध गरिएको छ ।
