सर्लाह, ३० साउन । सर्लाहीको हरिपुर नगरपालिकाले भदौ १ गते आइतबारका दिन नगरभित्र सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख गोपाल पजियारले आज सूचना जारी गर्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतबार पनि नगरभित्र सार्वजनिक बिदा दिइएको उल्लेख गरेका हुन् । श्रीकृष्ण जन्माष्टमी पर्व शनिबार मनाइँदै छ ।कृष्णाष्टमीको अवसरमा नगरका विभिन्न स्थानमा मेला लाग्ने भएकाले आइतबार थप एक दिन बिदा दिने निर्णय भएको नगरप्रमुख पजियारले जानकारी दिए । उनका अनुसार आइतबार नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, आकस्मिकबाहेक स्वास्थ्य संस्थालगायत नगरपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने छन् ।सर्लाहीमा श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामसँग मनाउने तयारी भइरहेको छ ।